बौद्ध दर्शनसम्बन्धी विचार गोष्ठी सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

बौद्ध दर्शन के हो र अन्तर्राष्ट्रिय जगत्मा यस दर्शनको प्रभाव कस्तो रहेको छ ? यसबारे बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा बहस गरिएको छ।

प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागद्वारा आयोजित ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’ विषयक विचारगोष्ठीमा यस्तो बहस गरिएको हो।

गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मानवजीवनका लागि दर्शनको अपरिहार्य महत्व रहेको बताउनुभयो।

उहाँले दर्शनले नै जीवनमा दृष्टिकोण बनाउन र गन्तव्य पहिल्याउन मार्गनिर्देश गर्ने भएकाले बिनादर्शन मानव जीवनको परिकल्पनासमेत गर्न नसकिने धारणा व्यक्त गर्नुभयो।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बौद्ध दर्शन दर्शन मात्रै नभएर धर्म पनि भएको बताउनुभयो। उहाँले धेरै अघि नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरिएको उल्लेख गर्नुहुँदै विश्वजगत्मै बुद्ध दर्शन तथा बुद्ध फैलिएको दाबी गर्नुभयो।

प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य मोदनाथ प्रश्रितले संसारमै बुद्ध दर्शन उत्कृष्ट दर्शनका रूपमा स्थापित भएको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो– ‘विश्वको करिब तृतीयांश जनसङ्ख्यामाझ यो दर्शनको प्रभाव रहेको छ।’ उहाँले बुद्ध दर्शनले समस्त मानव जातिलाई विभिन्न अन्धविश्वास र अतिवादमाथि माथि उठाउने दाबी गर्नुभयो।

यसै गरी सदस्य सचिव तथा दर्शनशास्त्रका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले विश्व दर्शन दिवसका अवसरमा गोष्ठी आयोजना गरिएको उल्लेख गर्दै नेपालीभूमिका जन्मिएको बौद्ध दर्शनको प्रभाव अन्तर्राष्ट्रिय जगत्मा कस्तो रहेको छ भन्ने जान्नका लागि गोष्ठी आयोजना गरिएको सुनाउनुभयो।

उहाँले दर्शन विभागबाट ‘दर्शनावली’ नामक ग्रन्थ प्रकाशित भइरहेको बताउनुभयो। गोष्ठीमा प्राडा. वीरेन्द्रप्रसाद मिश्रले ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’ का विषयमा विशेष प्रवचन दिँदै बौद्ध दर्शनले मात्रै विश्व मानव जीवनलाई सुखी तुल्याउने बताउनुभयो।

नेपाल संस्कृति विश्वद्यिालयका पूर्वउपकुलपति प्रा. शिवहरि मरहठ्ठाले बौद्ध दर्शन र यसको महत्वका बारेमा बोल्नुभएको थियो। वेदराज ज्ञवालीले दर्शनशास्त्र विभागको नयाँ प्रकाशन ‘दर्शनावली–६’को समीक्षा गर्नुभएको थियो।