नवनियुक्त मन्त्रीले लिए शपथ, दिए प्रतिबद्धता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएपछि आ–आफ्ना तर्फबाट प्रतिबद्धता सार्वजनिक गरेका छन्।

राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शपथ ग्रहणपछि प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

सोही समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। उद्योग राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उहाँले शपथ गराउनुभएको हो।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो।

२०७४ फागुन ३ गते गठन भएको ओली नेतृत्वको मन्त्रिपरिषद्मा यसअघि पनि विभिन्न समयमा नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले कार्यभार सम्हाल्दै सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसालले कर्मचारीको सरुवा, बढुवालगायतका काममा हस्तक्षेप गर्दा आफूलाई घृणा लाग्ने भएकाले त्यस्तो काम आफूबाट नहुने बताउनुभयो। बिहीबार मन्त्रालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले कर्मचारीको सरुवामा आफूले हस्तक्षेप नगर्ने बताउनुभयो।

‘तपाईंहरू आफ्नो जिम्मेवारी पूरा गर्नुस्, म मेरो जिम्मेवारी पूरा गर्छु, सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप गर्दिनँ।’ –उहाँले भन्नुभयो।

मन्त्री भुसालले आफूलाई मनपर्ने भएकाले कृषि मन्त्रालय रोजेको बताउँदै आफूले विगत लामो समयदेखि बुर्जुवा श्रमबाट माथि उठ्ने विषयमा वकालत गर्दै आएको र अहिले काम गर्ने अवसर आएको बताउनुभयो। पदभार ग्रहण गर्ने दिन पहिलो निर्णयमा हस्ताक्षर गर्ने प्रचलन मन्त्री भुसालले तोड्नुभएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले विगतका कमीकमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न आफूले प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो।

मन्त्रालयको कार्यभार सम्हालेपछि प्रतिक्रिया दिँदै उहाँले उपयुक्त नीति बनाउने, भएका नीति तथा कार्यक्रमलाई अगाडि बढाउने र समस्याको समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

काठमाडौंलगायतका क्षेत्रमा धूलो उड्ने, कालोपत्र उप्कनेलगायतका समस्या यथावत् रहेको आफूलाई जानकारी रहेको बताउँदै समस्या समाधानका लागि काम अगाडि बढाइने बताउनुभयो। ‘सडक, रेल र यातायात विभागले गरेका काम कारबाहीका विषयमा अध्ययन गरेर उचित निर्णय हुन्छ।’ –उहाँले भन्नुभयो।

राष्ट्रिय महत्वका योजनाको काम द्रुत गतिमा लैजानु जरुरी रहेकोमा जोड दिँदै उहाँले सुधार गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो।नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीले निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या रहेकाले त्यसलाई समाधान गर्ने गरी काम गर्ने बताउनुभएको छ।

मन्त्री त्रिपाठीले कर्मचारी समायोजनमा मनोवैज्ञानिक समस्या रहेको बताउँदै विचाराधीन अवस्थामा रहेको निजामती ऐन टुंगिएपछि धेरै कुरा सहज हुने विश्वास व्यक्त गर्नुभयो।

आर्थिक अनुशासनसँग जोडिएको महत्वपूर्ण पक्ष स्थानीय तहका महालेखाको प्रतिवेदन कसरी निकाल्ने भन्ने विषय अन्योलमा रहेको बताउँदै उहाँले स्थानीय सरकारमा जनप्रतिनिधि नयाँ भएका र कार्यालय सञ्चालनमा पनि अनुभव कम भएका कर्मचारी रहेकाले केही समस्या देखिएको बताउँदै उहाँले जबरजस्ती गएका आधा मनले काम गर्ने अवस्था रहँदा अनुशासन अनुकूल काम नभएको उल्लेख गर्नुभयो।

‘पारदर्शीतालाई संस्थागत र संरचना रूपमा लैजानुपर्छ। केन्द्रले स्थानीय तहलाई थिच्न खोज्यो भन्ने होइन, मन्त्रालयले सात सय ५३ वटै पालिका भवन निर्माणका लागि कार्यविधि बनाएको छ। वडाबाट पालिका जोड्ने सडक योजनासमेत अघि सारेको छ।’ –उहाँले भन्नुभयो।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्योगको विकास र प्रवद्र्धन गर्ने प्रतिबद्धताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यभार सम्हालेपछि उहाँले मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपूर्ण हुने बताउँदै उद्योग क्षेत्रका विकासमा लाग्ने बताउनुभयो।

जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रूपमा उपलब्ध गराउने गरी काम अगाडि बढाउने उल्लेख गर्दै राष्ट्रिय गौरवका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने काममा लाग्ने बताउनुभयो।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीमा देखिएका बेथिति र विसंगति हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मन्त्रालयमा पदभार ग्रहण गरेसँगै यादवले वैदेशिक रोजगारीमा धेरै विसंगति रहेको र यसलाई हटाउन आफ्नो भूमिका रहने बताउनुभयो। उहाँले भ्रष्टाचारमा आफू कठोर हुने दृढता व्यक्त गर्नुभयो।

सकेसम्म स्वदेशमै रोजगारी दिलाउनेतर्फ पनि ध्यान दिने बताउँदै उहाँले वैदेशिक रोजगारीमा देखिएका बेथिति र विसंगति सम्पूर्ण हटाएर बाहिर जाँदा पनि गौरव गर्ने वातावरण बनाउन भूमिका खेल्ने बताउनुभयो।

‘हाम्रो समाजमा असुरक्षित सामाजिक वातावरणलाई हामीसँग राज्य छ भन्ने आभास दिलाउने काम हुन्छ, सामाजिक सुरक्षा कार्यक्रममा केही त्रुटि भेटिए सच्याउँछु।’ –मन्त्री यादवले भन्नुभयो।

नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले आफू काम गर्न आएकाले कर्मचारीहरूलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो। चेतावनीको शैलीमा मन्त्री गुरुङले आफू टिममा विश्वास गर्ने भएकाले विश्वासघात भयो भने अर्को परिणाम आउन सक्ने संकेत गर्दै कर्मचारीलाई जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो।

उद्योग राज्यमन्त्री मोतीलाल दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको माया र सद्भावले आफू राज्यमन्त्री बन्ने अवसर पाएको बताउँदै आफू राजनीतिभन्दा अलग ठाउँबाट आए पनि केही गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उद्योगीसमेत रहेका दुगडले आफू राज्यमन्त्री नियुक्त भएलगत्तै व्यवसायी उत्साहित भएको बताउनुभयो।

‘भगवान् साक्षी राखेर घूस नखाने’ उहाँको प्रतिबद्धता थियो। उद्योगीलाई रेड कार्पेट ओच्छ्याउने वातावरण बनाउँछौं।’ –उहाँले भन्नुभयो।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य क्षेत्रको सुधारको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘नागरिकहरूले सहजरूपमा स्वास्थ्य सेवा पाउने गरी सरकारले प्रभावकारीरूपमा काम गर्छ।’ –उहाँले भन्नुभयो।

त्यसै गरी नवनियुक्त शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको कामलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘मन्त्रालयले अघि सारेका योजनाहरूको कामलाई तीव्रता दिने काममा लाग्छु।’ –उहाँले भन्नुभयो ।