वेल्स युरोकपमा छानियो

0
Shares

लन्डन, (एजेन्सी) । 

वेल्स युरोकप २०२० मा छनोट भएको छ। जित्नैपर्ने निर्णायक खेलमा विजयी बनेपछि वेल्सले युरोकपमा स्थान बनाएको हो। निर्णायक खेलमा हंगेरीलाई २–० गोलअन्तरले पराजित गर्दै समूहमा दोस्रो स्थानमा रहेर वेल्स छनोट हुन सफल भएको हो।

समूह ‘ईं’ मा ८ खेलबाट १४ अंक जोड्दै वेल्स दोस्रो स्थानमा रहन सफल भयो। यो समूहबाट क्रोएसियाले १७ अंक जोड्दै शीर्षस्थानमा रहँदै युरोकपमा स्थान पक्का गरेको छ।कार्डिफमा मंगलबार राति भएको खेलमा वेल्सलाई जिताउन दुवै गोल आरोन राम्सीले गरेका थिए।

खेलको १५औं मिनेटमा राम्सीले ग्यारेथ वेलको पासमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए। ४७औं मिनेटमा राम्सीले किफेर मोरेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २–० को जित दिलाए।हारसँगै हंगेरीको छनोट सम्भावना सकिएको छ।

वेल्समाथि जित निकाल्न सफल भएको भए हंगेरी युरोकपलाई छनोट हुने थियो। हंगेरीले ८ खेलबाट १२ अंक जोड्यो। यही समूहको अर्काे खेलमा स्लोभाकियाले अजरवैजानलाई २–० ले पराजित गरेको छ।

त्यस्तै केभिन डि ब्रुयन र क्रिस्टियन बेन्टेकेले समान दुई गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा शतप्रतिशत जितको नतिजा निकालेको छ। बेल्जियमले साइप्रसलाई ६–१ लै सहजै पराजित गरेको हो।

ब्रसेल्समा मंगलबार राति भएको खेलमा बेल्जियमको आधा दर्जन गोलमा साइप्रसका यान्निक कारास्कोले एक आत्मघाती गोल गरे भने निकोलसले एक गोल फर्काए। खेलको १४औं मिनेटमा निकोलसको गोलबाट साइप्रस खेलमा अघि बढेको थियो।

तर, त्यसको दुई मिनेटपछि बेन्टेकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ३६औं केभिन डी ब्रुयनले गोल गर्दै बेल्जियमलाई २–१ ले अघि राखेको अग्रता दिलाए। ४१औं मिनेटमा केभिन डी ब्रुयनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए।

४४औं मिनेटमा कारास्कोले गोल गरेपछि बेल्जियमले पहिलो हाफमा ४–० को अग्रता बनाए। ५१औं मिनेटमा क्रिस्टोफोले आत्मघाती गोल गरेपछि बेल्जियम सहज जिततर्फ अग्रसर बन्यो। ६८औं मिनेटमा बेन्टेकेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ६–१ को फराकिलो जित दिलाए।

जितसँगै बेल्जियम छनोटमा अपराजित रह्यो। बेल्जियमले १० खेलबाट ३० अंक जोड्दै समूह ‘आई’ मा शीर्षस्थानमा रह्यो। त्यस्तै बेल्जियमले छनोटमा ४० गोल गर्दै ३ गोल मात्रै बेहोर्यो।

यही समूहको अर्काे खेलमा रुसले सान मारिनोमाथि ५–० को फराकिलो जित निकाल्यो। छनोटमा रुसले १० खेलबाट २४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो।

अर्काे खेलमा स्कटल्यान्डले काजाख्स्तानमाथि ३–१ को जित निकाल्यो। त्यसैगरी इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर जिओर्जिनियो वाइनाल्डमको ह्याट्रिक सहयोगमा नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेलमा इस्टोनियामाथि ५–० को फराकिलो जित निकाल्यो।