मोतीराम तिमल्सिना, काभ्रे।
बहुविवाहमा पक्राउ परेका युवालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले १ वर्ष ३ महिना कैद र १५ हजार जरिवनासहितको फैसला सुनाएको छ। सहमतिमा १३ वर्षीय बालिकासँग शारीरिक सम्वन्ध राख्ने १९ वर्षीय युवालाई ९ वर्ष कैद र २५ हजार क्षतिपूर्तिसहितको फैसला सुनाएको छ।
२०७६ जेठ ४ गते राति साढे १० बजेको समयमा १३ वर्षीय बालिकालाई उनकै बंगुर पाल्ने खोर नजिकै मकैबारीमा जबरजस्ती करणी गरिरहेको अवस्थामा बाबुले देखेपछि बालिका चिच्याएकी थिईन्। पीडक साजन शाह ठकुरी नागरिकतासहित महत्वपूर्ण कागजात छाडेर भागेका थिए।
आफूले राती कराउको आवाज सुनेपछि बाहिर निस्किएर हेर्दा छोरीलाई जर्बजस्ती गरिरहेका युवकलाई देखेको पीडित बालिकाको बुबाले अदालतमा बताउनुभएको थियो। उहाँले भन्नुभयो– ‘छोरी चिच्याउने र युवा भाग्ने एकै पटक भएकाले उसले नागरिकतासहितका सामग्रीहरू छाडेर भागेकोले सहजै चिन्न सकियो।’
प्रहरीको अनुसन्धानमा बालिकाले सहमतिमा युवालाई रातको समयमा घरमा बोलाएको खुलेको छ। कानुनले सहमतिमा पनि बालिकासँग शारीरिक सम्बन्ध राख्न पाईदैन। रातको समयमा छोरी घरबाट निस्किएको बाबु आमाले थाहा पाएका थिएनन्।
केही समय अघिदेखि नै चिनजान भएकोले बालिकालाई फकाएर युवाले जर्बजस्ती गरेका थिए। प्रेम सम्बन्ध भएकाले सहमतिमा शारीरिक सम्बन्ध राखेको युवाले बयान दिएका थिए।
जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद पराजुलीको इजलासले १९ वर्षीय युवा साजन शाह ठकुरीलाई ९ वर्ष कैद र २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
२०७६ जेष्ठ २७ गते अदालतमा दर्ता भएको उक्त मुद्दाको जेष्ठ २८ गते थुनछेक बहसमा साजनलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश भएको थियो। २०७६ कार्तिक ५ गते कसुर निर्धारण गरी न्यायाधीश पराजुलीले उक्त फैसला मंसिर २ गते सुनाउनु भएको हो।
बहुविवाह गर्दा कैद
न्यायाधीश पराजुलीको इजलासले बेथान्चोक गाउँपालिका–६ घर भई रोशी गाउँपालिका २ बस्ने फुलकुमारी लामाको उजुरीका आधारमा बहुविवाहमुद्दामा पक्राउ परेका हिक्मतसिं लामालाई १ वर्ष ३ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ।
श्रीमती फुलकुमारीको उजुरीका आधारमा पक्राउ गरेका हिक्मत र मिङमा योञ्जन तामाङ मध्ये मिङमालाई सफाई दिएको छ। २०७५ कार्तिक १६ गते दर्ता भएको उक्त मुद्दामा पहिलो आदेश २०७५ कार्तिक १९ गते भएको थियो। फुलकुमारी र हिक्मतबाट २०५८ सालमा जन्मिएका एक सन्तान छन्।
प्रहरीका सई धरौटीमा
बहुविवाह गर्ने प्रहरी नायब निरीक्षक धरौटीमा छुटेका छन्। जिल्ला न्यायाधीश दुर्गा खड्काको एकल इजलासले प्रहरी नायब निरीक्षकलाई छाड्ने आदेश दिएको हो।
पनौती नगरपालिका ४ ऐंरीगाउँ घर भएका प्रहरी नायब निरीक्षक (सई) बुबिन्द्रराज काफ्लेले बहुविवाह गरेका थिए।
काफ्लेलाई १ लाख २० हजार र उनको कान्छी श्रीमती पुष्पा खनाल काफ्लेलाई ६० हजार धरौटीमा छोड्ने आदेश दिएको हो।
खनालको पहिल्यै वैदेशिक रोजगारीमा गएका एक व्यक्तिसँग विवाह भएको र उनी नेपाल आएपछि सई काफ्लेले नै डिभोर्स गराई खनालसँग दोस्रो विवाह गरेको बयानमा स्वीकारेका छन्।
आफूले बहुविवाह गरेको स्वीकारेका सई काफ्लेलाई धरौटीमा छोडेर कानुनको धज्जी उडाएको पीडितले बताएका छन्।
उनको श्रीमती उमा थपलियाले प्रहरीमा बहुविवाह विरुद्ध उजुरी गरेकी थिईन्। जिल्ला अदालतको आदेश विरुद्ध पीडित सरकारी वकिल कार्यालयमार्फत उच्च अदालत गएका छन्।











प्रतिक्रिया