नेपालमा पनि पुरुष दिवस


काठमाडौं, (नेस)। 

विभिन्न कार्यक्रम गरी नेपालमा पनि अन्तरर्राष्ट्रिय पुरुष दिवस मनाइयो। लैगिक हिंसा अन्त्य गर्न महिला पुरुष दुवैको प्रभावकारी भूमिका आवश्यक भएको भन्दै पुरुष दिवसमा महिलाबाट पुरुष र पुरुषबाट महिला पीडित हुन नहुने कुरामा जोड दिइएको छ।

पित्तृ सत्ताले पुरुषलाई पारेको असर र लैंगिक हिंसा अन्त्यका लागि पुरुषको भूमिका विषयमा कार्यरत संस्था हामी दाजुभाइको अगुवाइमा ‘महिला हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय पुरुष दिवस २०१९ मनाइएको छ।

पछिल्लो समय महिलामाथिको हिंसाका समाचारयथेष्ट देखिएको र सार्वजनिक यातायात, कार्यालयदेखि विभिन्न स्थानमा महिलामाथि हुने गरेको हिंसाको विरुद्ध आवाज उठाउन र नेपाल सरकारले २०७६ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्ष घोषणा गरेको सन्दर्भमा यस वर्षको नारा तय गरिएको हामी दाजुभाइका अध्यक्ष सन्जोग ठकुरीले बताउनुभयो।

प्रा. संजीव उप्रेतीले पुरुषसत्ताले पुरुषहरूलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरूमा रहेको भ्रम चिर्न आवश्यक भएको बताउनुभयो। सन् १९६० को दशकबाट शुरू भएको पुरुष दिवसको आवश्यकताको बहस सन् १९९३–१९९४ मामिसौरी–कन्सास विश्व विद्यालयअन्तर्गतको मिसौरी पुरुष अध्ययन केन्द्रका निर्देशक थोमस ओस्टरको नेतृत्वमा फ्रेब्रुअरी २३ मा पुरुष दिवस भव्यताका साथमनाउन शुरू गरिएको थियो।

तर त्यसपछाडि यो दिवस मनाउन छाडिएकोमा सन् १९९९ मा ट्रिनिडाड एण्ड टोबागोस्थिति वेस्ट इन्डिज विश्व विद्यालयका इतिहासका प्राध्यापक डा. जेरोम तेलक सिंले १९ नोभेम्बरलाई अन्तर्राष्ट्रिय पुरुष दिवसको रूपमा मनाउन शुरू गरेपछि प्रत्येक वर्ष पुरुष दिबस मनाउन थालिएको हो।

दक्षिण एसियाका भारत र पाकिस्तानमा समेत मनाइने यो दिवस नेपालमा भने यसै वर्षदेखि मनाउन थालिएको छ। विश्वमा चीन, अमेरिका, बेलायत, सिंगापुर, दक्षिण अफ्रिका, डेनमार्क, नर्वे, अस्ट्रिया, जिम्बाबे, घाना, वेस्ट इन्डिज, फ्रान्स, इटालीलगायतका मुलुकमा पनि यो दिवस मनाउने गरिएको छ।