टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास


सरस्वती न्यौपाने, रसुवा ।

अन्तराष्ट्रिय नाका रसुवागढी नजिकै टिमुरेमा हुन लागेको सुख्खा बन्दरगाहको बुधबार शिलान्यास गरिएको छ ।

इन्टरनेशनल इकोनमिक एक्सचेन्ज सर्भिस सेन्टरका अफ तिब्बत कर्मस डिर्पाटमेन्ट अफ चाइनाका निर्देशक बियन चेन र वाणिज्य तथा आपुर्ति मन्त्रालयका उपसिचब पार्वती अर्यालले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण हुन लागेको सुख्खा बन्दरगाह सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति भई द आर्किटेक्चरल रिकोनाइसेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोमोमस रिजन कम्पनिले लागत अनुमान सहितको फाइनल डिजाइन तयार पारेको हो ।

सन् २०१८ जनवरी १५ मा डिजाइन पत्र स्वीकृत गरि हस्तान्तरण भएको उक्त बन्दरगाहको निर्माणको लागत करिब १२ करोड ४० लाख चीनियाँ युआन रहेको छ । निर्माणको सुरु गरेको ३० महिनामा सम्पन्न गर्ने चीनियाँ निर्माण कम्पनिले जनाएको छ ।

संरचना निर्माणको लागी लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधारणको ३.५ हेक्टर जमिन अधिकरण गर्ने काम भई केही घर टहराको मुआब्जा पाउन बाँकी रहेकाहरुको प्रकृया अगाडी बढिसकेको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

उक्त बन्दरगाहमा ५ हजार स्क्वायर वर्गमिटरको सुविधा सम्पन्न ५ तल्ले जाँच पास भवन निर्माण हुने र भवनमा भन्सारको लागी अफिसर क्वाटरसहितको दुवै सुविधा हुने छ ।

रसुवागढि नाका हुदैं चीनबाट आयात हुने वस्तु यसै बन्दरगाह मार्फत नेपाल भित्रने छ । चीनसंगको प्रमुख व्यापारीक नाका भएकाले यसको व्यावसायीक महत्व बढ्दै गएको छ ।