कुस्माको भित्री सडक बिस्तारको अनुगमन


न्युज अफ नेपाल, पर्वत ।

पर्वतको कुश्मा नगरपालिकाभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नतीको काम रोकिएपछि सर्बपक्षीय रुपमा बुधबार अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा सडक बिस्तार र स्तरउन्नतीको काम लामो समय देखि रोकिएको देखिएपछि बिद्युत र पोल हटाउनका लागि सम्बन्धित कार्यालयलाई ७ दिन भित्र र निर्माण ब्यबसायीलाई तीन दिन भित्र कामको कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ ।

सडक बिस्तारका क्रममा टेलिफोन र बिद्युतका पोल स्थानान्तरण हुन नसक्दा काम अघि बढाउन कठिन भएको निर्माण ब्यबसायीले बताउँदै आएका थिए ।

मंसिर २५ गते भित्र सबै पोल हटाउने गरि सात दिन भित्र नेपाल टेलिकम पर्वत र बिद्युत प्रधाकिरण पर्वत बितरण केन्द्रलाई कार्ययोजना पेश गर्न निर्देशन दिइएको अनुगमन टोलीका सदस्य तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।

निर्माण ब्यबसायीले समेत ३ दिन भित्र आफ्नो सडक निर्माण गर्ने कार्ययोजना पेश गर्न बैठकले निर्देशन दिएको छ । कार्ययोजना अनुसार काम भए नभएको अनुगमन समितिले हेर्ने सहमति भएको छ । पौष महिना भित्र सबै ढलान र पिच बाहेकको सबै काम सक्ने सहमति समेत भएको अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी, पर्वत प्रहरी प्रमुख डिएसपी श्यामु अर्याल, कुस्मा नगरपालिकाका वडा नं ४,५ र ६ का वडा अध्यक्षहरु मिना कर्माचार्य, चित्रकला भारती शर्मा, रुद्र गिरी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, बिद्युत र टेलिकमका पर्वत प्रमुख सहितका सरोकारवालाले सडक निर्माणको अबस्थाका बारेमा स्थलगत अनुगमन गरेपछि जिल्ला प्रशासन कार्यालयमा बैठक राखिएको थियो । कुस्मा सडक बिस्तार गर्दा नाली माथि स्लाब राखिएको छ ।

ब्यबसायीले स्लाबमा सामाग्री राखेर बिक्री गर्दा फुटपाथ हटेको छ । सडक अतिक्रमण गरि फुटपाथमा राखिएका सामाग्री कुस्मा नगरपालिकाले हटाउने निर्णय समेत बैठकमा भएको छ। यसका लागि नगरपालिकाले छिट्टै सुचना जारी गरेर काम थाल्ने प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो ।

कुस्माबजार भित्रको ३ किलोमिटर सडक चालु आर्थिक बर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम थालिएको थियो । नाली बनाउने र स्ल्याब राख्ने काम केही भएपनि अन्य काम अघि बढ्न सकेको छैन ।

बजारक्षेत्रका मुख्य सडक ८ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट स्वीकृति लिएको नगरपालिकाले मुख्य बजारक्षेत्रमा सबै ठाउँमा भने मापदण्ड कायम गराउन सकेको छैन ।

मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्ने क्रममा धेरै ठाउँमा ८ मिटर नपुगेको गुनासो स्थानियले गरेका छन ।