विकासका लागि पर्यटन नै पहिलो अधार


यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको विकास पर्यटनबाटै हुने सरोकारवालाले औल्याएका छन् । उनीहरुले सिद्धार्थ नगरपालिकाले सोहीअनुसारको कार्ययोजना बनाइ अघि बढ्नुपर्नेमा जोड दिएका छन ।

बुधबार नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाले नगरपालिकाले अहिले अघि बढाइरहेका पर्यटकीय योजनालाई समयमै सकी योजना अघि सार्नुपर्नेमा सुझाव दिएका छन ।

नगरपालिकामा नेपाल सरकार तथा जर्मन सरकारको सहकार्यमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना (एलपीईडी) लागू भएको छ ।

परियोजना कार्यान्वयन अन्तर्गत नगरपालिकाभित्र रहेका विभिन्न आर्थिक सम्भाव्यता र आयका अवसरहरु प्रदान गर्ने क्षेत्रहरु एवं मूल्य श्रृंखलाहरु पहिचान गर्न पहिलो चरणको कार्य प्रतिस्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषण (पीएसीए) मार्फत काम सुरु गर्न लागेकोे छ ।

नगरपालिकासँग मिलेर जीआईजेडले यसको अगुवाई गरिरहेको छ ।

सम्भाव्यता अध्ययन र लगानीका योजना छनौटबारे बुधबार नगरपालिकाले भैरहवा क्षेत्रका राजनीतिकदल, नागरिक समाज, संघसंस्थाका प्रमुख एवं प्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो ।

अन्तरक्रियामा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले नगरको विकासको आधार पर्यटन क्षेत्र नै भएको बताउनु भयो ।

उहांले कृषि, उद्योग व्यवसायसँगै पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढ्न र त्यसतर्फ लगानी बढाउन नगरपालिकालाई आग्रह गरेका छन ।

पर्यटक व्यवसायी किशोर जोशीले लुम्बिनीको काखमै सिद्धार्थनगर भएकाले यहाँको समृद्धिको आधार पर्यटन हुनसक्ने औल्याएका छन ।

उहाँले सबैभन्दा बढी पर्यटक सिद्धार्थनगरबाट भित्रिने र ती पर्यटकलाई यहाँ भुलाउन पर्यटकीय गतिविधिका काम गरिनु पर्नेमा जोड दिएका छन ।

सामाजिक अगुवा भरतकुमार पोखरेल, उद्योगी मंगल भण्डारी, पत्रकार शंकर पाण्डेले पनि नगरपालिकाले पर्यटन क्षेत्रलाई नै प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । उनीहरुले त्यससँगै नगरमा कृषि पकेट क्षेत्र छुट्याएर व्यवसायिक कृषि गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन ।

यहाँ गरिने सबै किसिमको लगानी सुरक्षित रहेको उनीहरुको भनाई रहेको छ ।

नगर प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकाले पनि पर्यटक क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको जनाउनु भयो । उहाँले डण्डा नदीको छेउमा बुद्धत्व झल्कने पर्यटकीय गेट बनाउन लागिएको, वडा नं. २ र ३ मा पर्यटकीय पार्क बनाउन लागिएको, भैरहवाको मुख्य सडकमा बुद्ध मूर्ति राख्ने काम भइरहेको, बहुउद्देश्यीय डण्डा कोरिडोरको योजना ल्याइएको जनाएका छन ।