सरकार संविधानले दिएको अधिकार खोस्ने काममा लागेको थापाको आरोप


न्युज अफ नेपाल, भक्तपुर ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सरकार संविधानले दिएको जनताको अधिकार खोस्ने काममा तल्लिन रहेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेस भक्तपुरद्धारा चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरीमा बुधबार आयोजित कोणसभालाई सम्बोधन गर्नुहुदै थापाले जनता कुनै पनि पार्टीका हलि नभएकोले उपनिर्वाचन मार्फत दुई तिहाई सरकारले गरेका कामको मूल्यांकन गर्ने बताउनुभयो ।

उपनिर्वाचनको विजय पराजयले नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसलाई संख्यात्मक रुपमा प्रतिनिधिको संख्या थपघट मात्र हुने तर सरकारलाई दिने सन्देशका लागि यो निर्वाचनको परिणामले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो ।

उहाँले जनतालाई विकास र समृद्धिको खोक्रो नारा दिएर अघि बढेको दुई तिहाइको सरकारलाई सच्चिनको लागि काँग्रेसलाई जिताउन अनुरोध गर्नुभयो । थापाले काँग्रेसका तत्कालिन सभापति गिरीजा प्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्ने हैसियत बनाएको बताउँदै तत्कालिन माओवादीका क्रियाकलापलाई जनताले माफ गरेता पनि नबिर्सिएको बताउनु भयो ।

कोण सभालाई सम्बोधन गर्नुहुदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाउनुभयो । उहाँले अहिलेको उपनिर्वाचन भनेको महंगी, कर, बलात्कार, कुशासन, भ्रस्टाचार, अधिनायकवादका विरुद्धको लडाई भएकोले भक्तपुरका जनतालाई आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न अनुरोध गर्नु भयो ।

नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले नेपाली काँग्रेले पैसा बाडेको अफबाह फैलाउने गरेको र भित्री रुपमा आफै सरकार र शक्तिको दुरुपयोग गरी पैसा बाड्दै गरेको आरोप लागउनुभयो ।

घरदैलो कार्यक्रममा केन्द्रीय सदस्यहरु डिला संग्रौला, कमला पन्त, काभ्रे काँग्रेसका सभापति मधु आचार्य लगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्यहरु, शुभेच्छुकहरु, स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

यसै गरी बिहीबार नगरकोटको गडगडेमा नेपाली काँग्रसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा घरदैलो कार्यक्रम हुने कांग्रेसले जनएको छ ।