डोटीमा नेपाली एकहजारको नक्कली नोट भेटियो


विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेशको डोटी जील्लामा एकहजारको नक्कली नोट फेला परेको छ । दिपायल स्थित एनसिसि बैंङ्कमा एकजना ग्राहकले आफनो खातामा रकम जम्मा गर्न ल्याउदा रु एक हजारका दुई वटा नक्कली नोट फेला परेको हो ।

बैंङ्कका कर्मचारी अनिल शाहीले बैंङ्कमा रु ३५ हजार जम्मा गर्न आएका एकजना ग्राहकको रकममा उक्त दुई वटा नक्कली नोट फेला परेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “एक जना ग्राहक रकम जम्मा गर्न आउनु भयो, हामीले रकम जम्मा गर्ने बेला हेर्दा दुई नोट नक्कली भएको फेला पार्यौँ ।” अन्य रुपैयाँ भन्दा उक्त रुपैयाँको कागज फरक खालको तथा फोटोकपी पेपर जस्तै भएकाले नक्कली नोट सजिलै चिनिएको शाहीको भनाई छ ।

उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीमा कहाँबाट नक्कली नोटहरु आए सो विषयमा अनुसन्धान गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो– “नक्कली नोट कहाँ बाट आयो यो विषयमा सुक्ष्म रुपमा अध्यन र छानविन हुने छ ।” डोटीका नक्कली रुपैयाँ भेटिएको यो पहिलो पटक हो ।

बैंङ्कमा जम्मा गर्ने समयमा नक्कली नोट भेटिएसंगै यहाँका बजारहरुमा समेत यस्ता खाले नोट हुन सक्ने भन्दै स्थानीयबासी चिन्तित बनेका छन् ।