गौ महोत्सबमा दुई लाख दान दिनेलाई हेलिकप्टरमा कालञ्जर पर्वत घुमाईने


दुर्गाप्रसाद शर्मा, पर्वत ।

लोप हुँदै गएको स्थानीय जातका गाईको संरक्षण गर्न मुलुकमै पहिलो पटक पर्वतको जलजला गाउँपालिकाको धाइरिङ्गमा आयोजना गरिने गौ महोत्सबको तयारी तीब्र पारिएको छ ।

महायज्ञ मुल आयोजक समितिले पर्वतको कुस्मामा बुधबार पत्रकार सम्मेलन गरेर नेपालमै पहिलो पटक आयोजना गरिने गौमहोत्सवका लागि आयोजक सदस्य बनाउने, दाताहरुको नामावली संकलन गर्ने तथा आवश्यक पुर्बाधार निर्माण गर्ने काम तीब्र पारिएको जनाएको छ ।

गण्डकी गोपाल गौशाला धाइरिङ्गको आयोजनामा आगामी मंसिर १९ देखि २६ गते सम्म महोत्सब आयोजना गरिएको हो ।

जलजला गाउँपालिका –७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

धार्मिक र पर्यावरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उदेश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको बताउनुभयो ।

‘एक हजार स्थानिय जातका गाईपालन गर्न सक्ने पुर्वाधार बनाउन र त्यसका लागि आवश्यक रकम जुटाउन महायज्ञ आयोजना गरिएको हो’ उहाँले भन्नुभयो ‘गाई पाल्न नसकेर भीरबाट लडाएका घटना बाहिर आइरहँदा हामीले थालेको संरक्षणको प्रयासलाई सबैतिरबाट सहयोगको आश्वासन आएको छ’

महोत्सब मुल आयोजक समितिका सचिब जगन्नाथ आचार्यका अनुसार अहिले सम्म १ हजार जनालाई आयोजक सदस्य बनाइने छ । महायज्ञमा २ लाख ५ हजार ५ सय ५५ भन्दा माथि दान गर्नेलाई धार्मिक तथा पर्यटकीय गन्तब्य कालञ्जर पर्वत र आसपासका धार्मिकस्थलको अवलोकन गर्ने योजना अघि सारिएको छ ।

यस अघि मुलुकभर आयोजना गरिएका महायज्ञ तथा महोत्सवमा दान गर्नेलाई हेलिकप्टरमा सयर गराउने परम्परा थिएन । ‘दाताको सम्मानका लागि नयाँ काम सोचेका हौ’ महासचिब आचार्यले भन्नुभयो ‘कम्तीाम २ सय जनाजति २ लाख भन्दा बढी दान गर्ने दाता बनाउने लक्ष्य भएकाले आयोजकले थोरै रकम खर्च गरेर जीवनभरको चाहना पुरा गराउन किन पछि पर्ने भनेर नयाँ योजना अघि सारिएको छ’

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।

गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने र महायज्ञमा करिब ५ करोडबढी आर्थिक संकलन गर्ने लक्ष्य लिईएको आयोजक समितिका बरिष्ठ उपाध्यक्ष डण्डपाणी आचार्यले बताउनुभयो ।

सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउन गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ ।

कालञ्जर पर्वतलाई पवित्र तपोभूमिको रुपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ । मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने मान्यता रहेको छ ।

गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुन रसियन शोधकर्ताहरुको अनुसन्धानबाट पुष्टि भएको छ । परम्परागत समाजमा गाईपालन बृहत रुपमा हुँदै आएपनि पछिल्लो समय भने विस्तारै हराउँदै जान थालेको छ ।