दिगो र सुरक्षित संरचना समयमै बनाऊँः उपराष्ट्रपति पुन


काठमाडौँ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभएको छ ।

इन्जिनीयर तथा आर्किटेक्चर संस्थाहरुको सङ्गठन (स्क्याफ)ले आयोजना गरेको ‘उज्ज्वल भविष्यका लागि उत्थानशील पूर्वाधार’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक बनाउन सरकार, इन्जिनीयर र निर्माण व्यवसायी तिनै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्माण सम्पन्न भएको केही दिनमै संरचना किन भत्किन्छन् ? कसलाई खुसी पार्न निर्माणमा सम्झौता गरिएको हो ? यसरी मुलुकको विकास हुँदैन, भोलिको पुस्तालाई विकास दिने हो भने अब सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।”

उपराष्ट्रपति पुनले भूकम्पपछिको पुनर्निर्माणले लक्षित गति लिन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनता अझै अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै मुलुकको पहिचान बोकेका सम्पदा पुनर्निर्माणका लागि विदेशी सहयोग कतिको उपयुक्त हुने हो भन्ने प्रश्नसमेत गर्नुभयो ।

तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘रेजिलियन्ट इन्फ्रास्ट्रक्चर’ को महत्व र यसका विविध पक्षका बारेमा प्रस्तुति राख्नुभएको थियो ।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले विभिन्न कठिन परिस्थितिका बाबजुद पनि अन्य मुलुकको तुलनामा नेपालले पुनर्निर्माणमा सन्तोषजनक प्रगति गरेको दाबी गर्नुभएको छ । उहाँले अझै सिक्न अर्काे विपद् कुर्न नहुने भन्दै विपद् प्रतिरोधी संरचना बनाउनु अहिलेको प्रमुख जिम्मेवारी भएको बताउनुभयो ।

स्क्याफका अध्यक्ष राजेश थापाले भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको नेपालले अब विपद् जोखिम न्यूनीकरण र पुनर्लाभका अनुभव अन्तर्राष्ट्रिय समुदायलाई दिनसक्ने अवस्थामा रहेको बताउनुभयो ।

उहाँले दिगो र सुरक्षित संरचना निर्माणका लागि राष्ट्रिय अनुभव दिन र अन्तर्राष्ट्रिय नवीनतम् प्रविधि भित्र्याउन सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा नेपालसहित भारत, चीन, कोरिया, श्रीलङ्कालगायत १० देशका इन्जिनीयर, व्यवसायी, सरकारी अधिकारी तथा विज्ञहरुको सहभागिता रहेको स्क्याफका महासचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
रासस