बेपत्ता पत्रकार खड्काको सामान पाटनमा भेटियो


दयाराम पण्डित, बाजुरा ।

डोटी घर भई रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजु खड्काको सामान पाटनमा भेटिएका छन् ।

बाजुराको बुढीनन्दा नगरपालिकामा पर्ने बुढीनन्दामाताको दर्शनका लागि गएर १४ महिना अगाडी बेपत्ता भएका पत्रकार खड्काको पर्स, झोला लगायतका सामान जडीबुटी संलन गर्ने क्रममा स्थानीयले भेटाएका हुन् । खड्का गतवर्र्ष भाद्र ९ गते देखि बेपत्ता भएका थिए ।

झोला भएको ठाउँमा केहि कंकालपनि भएकाले मृत्यु भएको आशंका गरिएको पत्रकार खड्काको उक्त सामान लौरी विनायक भन्ने स्थानमा भेटाएको स्थानीय पदम रोकायाले बताउनुभएको छ । स्थानीयले पर्समा तेजु खड्काको आडीकार्ड, लाइसेन्स भेटाए पछि प्रहरीलाई खवर गरेका हुन ।

इलाका प्रहरी कार्यालय कोल्टी बाजुराले मंगलबार प्रहरी टोलिलाई घटनास्थल तर्फ पठाएको छ । घटनाको सत्य तथ्य बुझ्न र अवशेषको पहिचान गर्नका लागि पत्रकार र केहि स्थानीयसहितको प्रहरी टोली त्यस तर्फ गएको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायव निरीक्षक रुद्रसिह धामीले बताएका छन् ।

प्रहरी टोलीले घटना स्थलमा भेटिएको प्रमाणहरुको मुचुल्का गर्ने र अवस्थाको अध्यन गर्ने प्रहरी नायव निरिक्षक धामीले जानकारी दिनुभयो ।

सामुदायीक रेडियो बुढीनन्दाको आकस्मीक बैठक बसी अवशेष पहिचानका लागि दुई जना पत्रकार जीवन कैला र ललितनाथलाई घटना स्थलतर्फ पठाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुरालाई खवर गरी अवशेषको पहिचान गर्ने सो कार्यका लागि आवश्यक खर्चको ब्यवस्थापन गर्ने निर्णय गरेको प्रवन्ध निर्देशक अनिल शाहीले जानकारी दिएका छन् ।

पत्रकार खड्काको खोजीका लागि गतवर्ष नेपाली सेनाको हेकोप्टरसहित पटक पटक खोजीकार्य जारी रहेको थियो । बेपत्ता पत्रकार खड्का नेपाल प्रेसयुनियन डोटी शाखाका संस्थापक सभापति हुन् ।