मोदी गाउँपालिकाका ग्रामिण सडकमा घट्यो सवारी साधनको भाडा


न्युज अफ नेपाल, पर्वत ।

पर्वतको मोदी गाउँपालिका अन्र्तगतका ग्रामिण सडकहरुमा सवारी साधनको भाडादर घटाइएको छ ।

मोदी गाउँपालिकामा सोमबार भएको सरोकारवालाको बैठकले ग्रामिण सडक सुधार भएका कारण पुरानो भाडादरलाई पुनरावलोकन गर्दै घटाइएको हो ।

मोदी गाउँपालिका भित्रका मुख्य ग्रामिण सडकहरु पातीचौर–बाजुङ्ग–क्याङ्ग, पातीचौर–देउपुर–देउराली, डिमुवा–रात्माटा– राम्जा देउराली, रतिखोला–चित्रे लगायतका सडकमा भाडा घटाइएको छ ।

सबै सडकमा १५ देखि २० प्रतिशत सम्म भाडा घटाइएको मोदी गाउँपालिका वडा नं २ का अध्यक्ष बिकास तिमिल्सिनाले बताउनुभयो । ‘सबै सरोकारवालाको सहभागितामा नयाँ भाडादर कायम गर्ने निर्णय भएको हो ।’ उहाँले भन्नुभयो ‘नयाँ भाडादर सोमबार देखि नै सबै सडकमा लागु गर्ने सहमति भएको छ ।’

पातीचौर–बाजुङ्ग–क्याङ्ग हुँदै लेस्पार सम्मको सडकमा अधिकतम लिइने ४ सय ५० रुपैयालाई घटाएर ४ सय रुपैया निर्धारण गरिएको छ । पातीचौर–देउपुर–देउराली सडकको घुरुङ्गा सम्म अधिकतमा ३ सयबाट घटाएर २ सय ५५ बनाइएको छ भने डिमुवा–रात्माटा– राम्जा देउराली सडकमा २ सय ५० बाट घटाएर २ सय २० बनाइएको छ ।

यस्तै रतिखोला–चित्रे सडकमा २ सयबाट घटाइएर १ सय ७५ बनाइएको छ । यस बाहेकका सडकमा पनि अहिले लिँइदै आएको भाडादरमा १५ प्रतिशत घटाएर लिने ब्यबस्था गरिएको छ ।