राजापुरमा धानको खरिद निराशाजनक, सत्तिमा उत्साहजनक


विष्णु तिमिल्सिना, बर्दिया ।

राजापुरमा धानको समर्थन मुल्य तोकिए पछि राजापुरमा धानको खरिद निराशाजनक रहेको छ भने कैलाली जिल्लाको सत्ति बजारमा भने उत्साहजनक रुपले धान खरिद भईरहेको छ ।

खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लिमिटेडको राजापुर स्थित आधुनिक चामल कारखानाले धान खरिद गर्नका लागि धानको समर्थन मुल्य तोकिएको हो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा कार्तिक २७ गते बसेको मुल्य निर्धारण समितिको बैठकले मोटा धान प्रति क्विन्टल २ हजाई ५ सय ३२ रुपैया ८० पैसा र मकवानपुर धानको २ हजार ७ सय निर्धारण गरेको थियो ।

मूल्य निर्धारण भए पछि खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लिमिटेड राजापुरले मोटा धानको खरिद गरेतापनि किसानहरुबाट अपेक्षित मात्रामा धान आएको छैन ।

राजापुरमा ४ सय ७ क्विन्टल ४८ किलोग्राम र सत्ति बजारमा २ हजार ७ सय १३ क्विन्टल ६२ किलोग्राम खरिद भएको कम्पनी राजापुरका रेवन्त्त रावलले जानकारी दिनु भयो ।

बर्दियामा राजापुर क्षेत्रमा मात्रै लगाइने मकवानपुर धानलाई मोटा धान जस्तै देखिने भएतापनि हरेक वर्ष यसको मुल्य मोटा भन्दा बढि हुने गरेको छ । तर नेपाल सरकारले मोटा धानमै सुचिकृत गरेर सोही सरह मूल्य निर्धारण गरी जिल्लामा बसेको बैठकले मकवानपर धानको मुल्य २ हजार ७ सय निर्धारण गरेअनुसार कार्यान्वयनको लागि समर्थन लिन केन्द्रमा पत्रचार गरिएकोमा हालसम्म त्यसको स्वीकृति केन्द्रबाट नआईसकेकोले सो धान खरिद गर्न नसकिएको समेत रावलले बताउनु भयो ।

बर्दियाको राजापुर क्षेत्र धान उत्पादनको लागि उर्भर रहेकोले कृषकहरुलाई प्रोत्साहन गर्न तत्कालिन नेपाल खाद्य संस्थानले शाखाको रुपमा राजापुरमा २०४५ सालमा जापानको सहयोगमा आधुनिक चामल कारखानाको स्थापना गरिएको थियो ।

अहिले नाम परिवर्तन भई खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लिमिटेड राजापुर को रुपमा सञ्चालनमा रहेको छ । नेपाल सरकारको नीति अनुसार खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लिमिटेड राजापुरले किसानसंग धान खरिद गरी त्यसलाई प्रशोधन गरी खाद्यन्न अभाव हुने हिमाली तथा पहाडी क्षेत्रका जिल्लामा आपूर्ति गर्ने गरेको छ ।

संस्थानको ६० हजार क्विन्टल धान खरिद गरी भण्डारण गर्ने क्षमता रहेको छ । विगतको वर्षमा संस्थानले ढिलो गरी नीजि गल्ला ब्यापारी भन्दा कम मुल्य समर्थन मुल्य निर्णय गर्दा लक्ष्य भन्दा एक दमै कम धान खरिद गर्न सकेको थियो ।

गत वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहे पनि ३ हजार ३० क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो । गत वर्ष ढिलो गरी भएको मुल्य निर्धारण हुँदा नीजि गल्ला ब्यापारी बढि मुल्य दिदा किसानहरुले उनीहरु लाई नै धान बिक्रि गरेका थिए ।

यस वर्ष गत वर्ष भन्दा करिब ३ हप्ता अगाडी नै मूल्य निर्धारण भएकाले गत वर्षको भन्दा अपेक्षित मात्रामा धान खरिद हुन सक्ने अनुमान गरिएको छ । यस वर्ष भने ४५ हजार हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको कम्पनीको छ ।

यसका लागि कम्पनीमै र तत्काल कैलालीको सत्तिमा खरिद शुरु गरिसकेको छ भने जनशक्ति वृद्धि भएमा राजापुर र गेरुवा पालिकाको अन्य ठाउँमा पनि खरिद डिपो विस्तार गर्न सकिने कुरा उहाँले बताउनु भयो ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रका विभिन्न ठाउँहरुमा निजी क्षेत्रका गल्ला व्यापारिहरुले पहिलेको खरिद मूल्य भन्दा केहि वृद्धि गरि २ हजार १ सय देखि २ हजार २ सय सम्मका दरले धान खरिद गरि रहेको अवस्था रहेकाले ती किसानहरुका लागि तत्कालै खैरी, चन्दनपुर, मनाउँ, शान्तिबजार, पथरैया, नयाँ गाउँ, टपरा लगायतका ठाउँमा घान खरिदका लागि कम्पनीले व्यवस्था नगरे तोकिएको मूल्य किसानलाई प्रत्यक्ष लाभ नहुने र साना किसानहरुले चाडवाड तथा हिउँदे खेतिका लागि विउमल खरिद गर्नका लागि पैसा आवश्यक पर्दा चाँडै विक्रि गर्नु पर्ने भएकाले कम्पनीले मूल्य निर्धारण गर्न अगाडीनै सस्तो मूल्यमा व्यापारीलाई विक्रि गरिसकेको कुरा कृषक समन्वय समितिका अध्यक्ष मुक्ति पौडेलले बताउनु भयो ।

राजापुर क्षेत्रमा ८० प्रतिशत मकवानपुर धान, ३ प्रतिशत मात्र मोटा धान र बाँकी मध्यम मोटा तथा अन्य जातको धान खेति गरिने भएकाले मोटा धान विक्रि कम हुने कुरा कम्पनीका लेखापाल रामसागर मेहताले बताउनु भयो ।