मोटरसाइकलमा बोकेर ३५ लाख


न्युज अफ नेपाल, हेटौंडा ।

अवैध हुण्डीको पैसा लिएर मोटरसाइकलमा आउँदै गरेको अवस्थामा सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बाराको पचरौता नगरपालिका—८, लंगडाचोकबाट ना २६ प १६४९ नम्बर मोटरसाइकलमा ल्याउँदै गरेको ३५ लाख ५० हजार रुपियाँसहित उनीहरुलाई पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ को झवानी टोलका २३ वर्षीय सुनिल महतो नुनिया र २२ वर्षीय राजनकुमार दुबे रहेका छन् ।
उनीहरुको साथमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित चेक तथा भौचरको फोटो तथा कारोबारको भ्वाइसरेकर्ड तथा करोडौं रुपियाँ कारोबार गरेका विवरण फेला परेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

उनीहरुलाई पक्राउ गरी बैंक तथा वित्तीय संस्था सम्बन्धि कसुरअन्तर्गत् बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न ५ दिन म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको छ ।