महायज्ञको पहिलो दिनमै साढे २२ लाख


न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–१८, हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउन मंगलबारबाट श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ ।

सप्ताह ज्ञानमहायज्ञ मूल समारोह समिति अध्यक्ष एवम् प्रदेश–३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सप्ताह उद्घाटन भएको हो ।

महायज्ञ उद्घाटमा मुख्यमन्त्री पौडेलले सरकारी विद्यालयले भौतिक पूर्वाधारका साथै गुणस्तरीय शिक्षा दिएर निजी विद्यालयलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

गुणस्तरीय शिक्षाका लागि विद्यालयका शिक्षक र विद्यालय व्यबस्थापनको ठूलो हात रहेको भन्दै यसतर्फ ध्यान दिँदै निजी विद्यालयतर्फ आफ्ना बालबच्चा पढाउने अभिभावकलाई सरकारी विद्यालयतर्फ ल्याउन शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

मंसिर १० गतेसम्म पण्डित दीनवन्धु पोखरेलले वाचन गर्ने सप्ताह ज्ञानमहायज्ञ उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा–१८ अध्यक्ष अनिल बानियाँ, विद्यालय व्यबस्थापन समिति अध्यक्ष शैलेन्द्रराज बानियाँ, समाजसेवी हर्क रम्तेल, विद्यालयको कक्षा–२ मा अध्ययनरत् कुसुम भोम्जनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सप्ताह ज्ञानमहायज्ञको पहिलो दिन २२ लाख ५० हजार संकलन भएको छ । महायज्ञमा विद्यालय संस्थापक अध्यक्ष सुरेन्द्रराज बानियाँले १० लाख रकम बराबर एक कठ्ठा जग्गादान गर्नुभएको छ भने मूल समारोह समिति अध्यक्ष इन्द्रबहादुर बानियाँबाट १ लाख, हेटौंडा–१८ का मुक्तप्रसाद चौलागाईंबाट २ लाख ५१ हजार, विद्यालय शिक्षक कर्मचारीबाट ४ लाख ८ हजार, विद्यालय संस्थापक जगत्बहादुर थापाबाट ५ लाख संकलन भएको हो ।

विद्यालयले प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ लगाएको विद्यालय व्यबस्थापन समिति अध्यक्ष बानियाँले जानकारी दिनुभयो । महायज्ञबाट करिब २ करोड संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष बानियाँले बताउनुभयो ।