आफुखुशी लिने बसभाडा घटाईयो


मोतीराम तिमल्सिना, काभ्रे ।

विकट क्षेत्रमा बस सेवा सुरु भएसँगै आफुखुशी लिने गरेको भाडा दरलाई जनप्रतिनिधिको रोहवरमा ब्यवसायीहरुले भाडा दर कायम गरेका छन् ।

जिल्लाको विटक महाभारत गाउँपालिकाको धापसम्म बस सेवा शुरु भए पछि आफुखुशी लिदैै आएको भाडा र बस संचालन हुने समय समेत तोकिएको छ ।

सम्झौता हुनु अघि उक्त क्षेत्रमा संचालन हुने गणेश हिमाल तराई यातायात सेवा कम्पनी प्रालीका बसहरुले काठमाडौबाट धापसम्म ७ सय ८० रुपैया गाडी भाडा लिने गरेका थिए ।

काभ्रेपलाञ्चोक जिल्लाको भिमखोरी हुँदै सिन्धुलीको रामपुरबाट बनखु हुँदै जाने बाटामा उक्त रकम लिने गरिएको थियो । महाभारत गाउँपालिका र गणेश हिमाल तराई यातायात सेवा कम्पनी प्राली बीच भएको सम्झौताबाट उक्त भाडा घटाउने निर्णय भएको हो ।

७ सय ८० रुपैया लिदै आएको गाडी भाडालाई २ सय ३० रुपैया घटाउने सम्झौता गरी ५ सय ५० रुपैया कायम गरिएको छ ।

महाभारत गाउँपालिकाको छोटेसानसम्मको ५ सय ८० कायम गरिएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, प्रालीका तर्फबाट निर्देशक आत्मराम थापा, संचालक केशव पौड्यालले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।

सबै क्षेत्रमा पुग्ने बस सेवामा प्रति यात्रु २ सय रुपैयासम्म भाडा कम भएको छ । बनेपाबाट भिमखोरी रामपुर हुँदै घर्तिछाप गोकुले धापसम्म गणेश हिमाल तराई यातायात सेवा कम्पनी प्रालीका बसहरु संचालन गर्ने सहमति भएको छ ।

सातै गाडी छुट्ने समय पहिलो धापबाट विहान ७.१५ बजे, दोश्रो बनखुबाट ८.३० मा र तेश्रो रामपुरबाट १०.३० बजे छुट्ने छन् । बनेपा देखि धापसम्मको प्रति यात्रु भाडा ५ सय ५० कायम गरिएको छ ।

बनेपा देखि उद्याउनेसम्मको ४ सय २० रुपैया कायम गरिएको छ । बनखुसम्म ४ सय ३०, ग्वाल्टारसम्म ४ सय ५०, घर्तिछापसम्म ४ सय ७५, सानो भन्ञ्याङ्गसम्म ५ सय, गोकुलेसम्म ५ सय २५ कायम गरिएको छ ।

जनप्रतिनिधि र ब्यवसायी बीचको समझदारीले यात्रुलाई फाईदा भएको छ । डाँडापारीका विभिन्न क्षेत्रमा बस सेवाशुरु भए सँगै जनप्रतिनिधीहरुले यात्रुहरुलाई सहजताका लागि ब्यवसायीसँगको समझदारीमा भाडा दर कायम गरेका हुन् ।

यस अघि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रे बस सेवा प्रालीका निर्देशक वर्ण शाक्यसँग भाडा घटाउने सम्झौता भएको थियो ।