‘सबै छिमेकीसँग भारतको सीमा विवाद छ’

चिनियाँ प्राध्यापक झाङ वेइवेइ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

भारतले नेपालको भू–भाग समेटेर एकतर्फी रुपमा पछिल्लो राजनीतिक नक्सा सार्वजनिक गरेपछि सो कदमविरुद्ध नेपालमा तीव्र विरोध भइरहेका बेला चिनियाँ अधिकारीले आफ्नो मुलुकको भू–भाग पनि भारतीय नक्सामा समेटिएको बताएका छन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ थिंक ट्यांक तथा प्राध्यापकले नेपाली सञ्चारकर्मीसँगको भेटमा चीन र पाकिस्तानको भू–भागसमेत भारतले एकतर्फी रुपमा नक्सामा समेटेको बताएका हुन्।

चाइना इस्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ प्राध्यापक झाङ वेइवेइले सबै छिमेकीसँग भारतको सीमा विवाद रहेको बताउनुभयो।

प्रेस काउन्सिल नेपालमा सञ्चारकर्मीसँगको भेटवार्तामा उहाँले भन्नुभयो– ‘भारतले भुटानबाहेक सबै छिमेकीसँग सम्बन्ध सुधार्न सकेको छैन।’ एसिया र युरोपलाई समेत जोड्ने गरी चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई) परियोजनामा समेत भारतले फरक मत राख्दै आएकाले क्षेत्रीय सहकार्यमा उसलाई समेट्न समस्या भएको भाङको भनाइ थियो।

कार्यक्रममा बोल्दै चाइनिज एकेडेमी अफ इन्टरनेसन ट्रेड एन्ड इकोनोमिक कोअपरसनका उप–निर्देशक झु काइहुवाले नेपाल–भारतबीचको पछिल्लो सीमा विवादबारे चीन जानकार रहेको बताउनुभयो।

वार्ता र कूटनीतिक पहलमार्फत नेपाल–भारत सीमा विवाद समाधान हुनुपर्ने उल्लेख गर्दै उहाँले यस विषयमा आफ्नो मुलुकको छुट्टै अडान नरहेको विचार व्यक्त गर्नुभयो।

यही साता नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले यसअघि त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको समेत भ्रमण गरी अन्तरक्रिया गरेको छ।