वाडेन युनिभर्सिटी जर्मनीले प्राविधिक शिक्षामा सहयोग गर्ने

0
Shares

काठमाडौं, (नेस)।

जर्मनीको वाडेन उटुम्वर्ग कोअपरेटिभ स्टेट युनिभर्सिटीले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा सहयोग गर्ने भएको छ।

शेषकान्त फाउन्डेशन र वाडेन युनिभर्सिटीबीच सहकार्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा सहयोग पुग्ने भएको हो।

जर्मनका विद्यालय तथा विश्वविद्यालयमा प्रचलनमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई दुवै संस्थाको पहलमा नेपालमा भित्रयाउने उद्देश्य राखिएको शेषकान्त फाउन्डेशनका सल्लाहकार तथा प्राविधिक शिक्षालयका परिकल्पनाकार पवन ढकालले बताउनुभयो।

धादिङको धुनिबेशी–५मा रहेको जर्मन प्राविधिक शिक्षालयमा सञ्चालन हुने तालिमका उत्कृष्ट विद्यार्थी र जर्मनको वाडेन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अध्ययन भ्रमणमा सहभागी गराउने समझदारीपत्रमा उल्लेख गरिएको शेषकान्त फाउन्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले बताउनुभयो।

समझदारीपत्रमा शेषकान्त फाउन्डेशनका तर्फबाट अध्यक्षले र युनिभर्सिटीका तर्फबाट प्राडा पिटर के वार्नडोर्फले हस्ताक्षर गर्नुभएको थियो।