दोषको दुनो दिलीपतिरै

अनुसन्धान साँघुरिँदै : प्रजिअ

0
Shares

मनोज भट्ट, महेन्द्रनगर।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताउनुभएको छ।

दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध दर्ता गरेको किटानी जाहेरी र प्राविधिक टोलीको प्रतिवेदनलगायतले अनुसन्धानमा सघाएको बताउनुभएको हो।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दिलीपविरुद्ध दुर्गादेवीले दिएको किटानी जाहेरीका सम्बन्धमा सोमबार स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ।

भदौ २२ गते दुर्गादेवीले डीएनए नमिलेर छुटेका दिलीपविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो।अनुसन्धानको दायरा साँघुरिँदै गएको प्रजिअ वैद्यको भनाइ छ।

दिलीपविरुद्ध परेको किटानीलाई प्रशासनले गम्भीरताका साथ लिएको उहाँले दाबी गर्नुभयो। ‘प्राविधिक टोलीले बुझाएको प्रतिवेदनले अनुसन्धानमा सघाएको छ।

किटानीलाई गम्भीरताका साथ लिएका छौं, अन्य प्रमाणहरू जुटाइरहेका छौं’, उहाँले भन्नुभयो– ‘अनुसन्धान अभियुक्ततर्फ केन्द्रित छ, जतिसक्दो चाँडो सार्वजनिक गर्नेछौं।’

हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी गणेश चन्दलगायत जिल्लाको अनुसन्धान टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

दिलीपलाई जुनसुकै बेला अनुसन्धानको दायरामा लिन सकिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताउनुभयो।

दिलीपलाई पक्रने कसरत

किटानी जाहेरी पेस भएको दुई महिनाभन्दा बढी हुँदासमेत त्यसविरुद्ध प्रशासनले किन सक्रियता देखाएन भन्ने प्रश्न टोलीमा सहभागीहरूले गरेका थिए।

‘आजसम्म छोरीको बलात्कारी, हत्यारा पत्ता लागेको छैन। दुई महिनाअगाडि दिलीपविरुद्ध दिएको किटानीलाई किन बेवास्ता गरिँदै छ’, निर्मलाकी आमा दुर्गादेवीले भन्नुभयो– ‘दिलीपलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्यो, अर्र्कै मान्छे अपराधी हो भने त्यसको पहिचान गराइदिनुपर्यो।’

‘यसअघि अनुसन्धानका बेला दिएको बयान र अहिलेको विभिन्न सञ्चारमाध्यम तथा पछिल्लो गतिविधिले दिलीपमाथि धेरै शंका उत्पन्न गरेको छ’, स्थानीय चन्द्रकला पन्तले भन्नुभयो– ‘किटानी जाहेरी परिसकेपछि दिलीपलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ, निर्दोष वा दोषी के छ भनी अदालतले छुट्याउनेछ।’