पूजा बोहोरा बलात्कार प्रकरण : दुवै अभियुक्तलाई साढे ११ वर्ष कैद

१० लाख क्षतिपूर्ति भराउन आदेश

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सर्वोच्च अदालतले पूजा बोहोरालाई सामूहिक बलात्कार गर्ने दुई जनाविरुद्ध साढे ११ वर्ष कैद सजाय निर्धारण गरेको छ।तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै अभियुक्तविरुद्ध सोमबार यस्तो सजायको निर्धारण गरिएको हो।

पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति भराउनसमेत आदेश भएको छ।
गत कात्तिक ७ गते न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको थियो।

मुलुकी अपराध कार्यविधि संहिता २०७४ अनुसार दोषी ठहर र सजाय निर्धारण दुईपटक गर्नुपर्ने व्यवस्थाअुनसार सोमबार सोही इजलासले जनही साढे ११ वर्ष कैद सुनाएको हो।

फैसलामा जबरजस्ती करणी गरेबापत ६ वर्ष र सामूहिकरूपमा गरेबापत थप साढे पाँच वर्ष कैद सजाय तोकिएको छ।

पीडित किशोरीको शिक्षा, स्वास्थ्य र मानसिक अवस्थामा परेको असरका कारण बाँकी जीवन व्यतित गर्न सर्वाेच्चले क्षतिपूर्ति दिन आदेश दिएको हो। ६ वर्षदेखि पुनरावेदनका रूपमा अल्झिएको मुद्दा सर्वोच्च अदालतबाट गत कातिक ७ गते फैसला भएको थियो।

१४ वर्षीया किशोरी बोहोरालाई २०६८ चैत ७ गते एसएलसीको गणित विषयको गेस पेपर किन्न जाँदा भट्ट र अवस्थीले नसालु सुई लगाई सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

उनलाई जबरजस्ती करणीपछि नालीमा फालिएको अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको थियो।

मुद्दाको सुनुवाइ गर्दै २०६९ फागुन २२ गते बैतडी जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले निज भट्ट र अवस्थीलाई दोषी ठहर गर्दै जनही १३ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना तोके पनि पुनरावेदन अदालत महेन्द्रनगरले २०७१ वैशाख १५ गते जिल्लाको फैसला उल्ट्याउँदै दुवै अभियुक्तलाई सफाइ दिएको थियो।

न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्लाको फैसलालाई त्रुटिपूर्ण देखाउँदै बदर गरेको थियो।