अतिक्रमणविरुद्ध जापानमा जागे नेपाली

0
Shares

भुपराज बस्याल, काठमाडौं।

नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा गैरआवासीय नेपाली संघ जापानले सोमबार त्यहाँस्थित भारतीय दूतावासअगाडि धर्ना प्रदर्शन गरेको छ।

भारतले नेपाली भू–भाग आफ्नो नक्सामा राखेर सार्वजनिक गरेदेखि नै कार्यक्रमको तयारीमा लागेको एनआरएन जापानले स्थानीय सरकारबाट स्वीकृति लिएर सोमबार विरोधको कार्यक्रम गरेको थियो।

संघको अगुवाइमा भएको उक्त विरोध कार्यक्रम हाम्रो भूमि फिर्ता गर, गो ब्याक इन्डियनलगायतका प्ले कार्ड बोकेर जापानका विभिन्न शहर परिक्रमा गरी उक्त दूतावास आगाडि कोणसभा गरिएको थियो।

एनआरएनए आईसीसीको निर्णयअनुसार भएको विरोध कार्यक्रममा सहभागीहरू ब्यानर र नेपाली राष्ट्रिय झण्डासहित उपस्थित भएका थिए। उनीहरूले केही क्षण भारतीय विस्तारवाद भन्दै नाराबाजी गरेका थिए।

गैरआवासीय नेपाली संघको अगुवाइमा गएको टोलीको ज्ञापनपत्र भारतीय दूतावासले नलिएपछि हुलाकमार्फत पठाइएको एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीले जानकारी दिनुभयो।

त्यसक्रममा भारतीय पक्षले उक्त विषय राजनीतिक भएकाले राजनीतिक तहबाटै सम्बोधन हुनुपर्छ भन्दै ज्ञापनपत्र लिन नलिएपछि हुलाकमार्फत पठाइएको उहाँले बताउनुभयो।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ आईसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष भण्डारी, वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, महासचिव जनकविक्रम शाहीलगायत अन्य पदाधिकारी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष जीवन न्यौपाने र अन्य राजनीतिक भ्रातृ सङ्गठनका प्रतिनिधि एवं विभिन्न संघ/संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।