सेनेटरी प्याड निस्कने मेसिन जडान हुदाँ छात्रालाई सहज 


हुम्ला ।

हुम्लाको एउटा विद्यालयमा पहिलोपटक छात्राका लागि स्वाचालित सेनेटरी प्याड उपलब्ध गराउने मेसिन जडान गरिएको छ ।

जिल्ला सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविमा छात्राका लागि सेनेटरी प्याड उपलब्ध गराउने मेसिन तथा प्रयोग भएको प्याडलाई नष्ट गर्ने मेसिन जडान भएको हो ।

गाउँपालिकाले आफ्ना वडामा रहेको सात वटा माध्यामिक विद्यालयमा स्वचालित सेनेटरी प्याडको मेसिन तथा प्रयोग भएका प्याड नष्ट गर्ने मेसिन निःशुल्क सहयोग गरेको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो ।

जिल्लाका सात वटा गाउँपालिकामध्ये सिमकोट गाउँपालिकाले विद्यालयमा अध्यनरत छात्राको सुविधाका लागि सेनेटरी प्याड उपलब्ध गराउने मेसिन सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत दर्जीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हुम्लामा छात्रा महिनावारी भएका बेलामा विद्यालय कक्षा छाड्ने र घरमा भन्न लजाउने बाध्यताको अन्त्यका लागि पालिकाले उक्त मेसिन सहयोग गरेको हो ।”

रु एक लाख ६० हजारका दरले सात वटा विद्यालयका लागि रु ११ लाख २० हजारमा सात वटा मेसिन खरीद गरी विद्यालयलाई निःशुल्क सहयोग गरेको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिनुभयो ।

पहिलोपटक विद्यालयमा मेसिन जडान भएपछि छात्राहरु खुशी भएको अध्यक्ष लामाले बताउनुभयो । “विद्यालयमा छात्राहरुले अब प्याड एटिएम मेसिन जडानबाट पाउने भएका छन् । सेनेटरी प्याड उपलब्ध गराउने मेसिनमा एकपटकका लागि ३०० वटा प्याड एटिएमको सिस्टमबाट आफैँ उपलब्ध हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुव्र शाहीले जानकारी दिनुभयो ।

मेसिन जडान भएपछि छात्राहरु महिनावारी भएको समयमा विद्यालय नआउने समस्या अन्त्य हुने विश्वास प्रधानाध्यापक कैलाश रोकायाको छ । हुम्ला जस्तो दुर्गम जिल्लामा छाउपडी ब्याप्त रहेको र छात्रा महिनावारी हुँदा विद्यालयमा नआउने, लजाउने र विद्यालयमा महिनावारी हुँदा पढ्दापढ्दै भागेर जानुपर्ने बाध्यताको अब अन्त्य हुने उहाँले बताउनुभयो ।

प्याड निस्कने मेसिन र फोहर पनि नष्ट गर्ने मेसिन उपलब्ध गराएकामा गाउँपालिकालाई उहाँले धन्यवाद पनि दिनुभयो ।

सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा जडान गरिएको उक्त मेसिनको आजै एक समारोहबीच उद्घाटन गरिएको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष लामा, उपाध्यक्ष वली रावत, प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई, वडा नं. ५ का अध्यक्ष कृष्ण बोहरा, जिल्ला स्वास्थ्यका डाक्टर दुर्गा सुर्खाली, सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दर्जीलगायतको सहभागिता थियो ।
रासस