चेक कीर्ते गरी बैंकबाट रकम निकाल्ने प्रहरी पक्राउ   


न्युज अफ नृपाल, महोत्तरी ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी निलम्बनमा परेका हुन् । उनलाई बैंकबाट रकम कीर्ते गरेको आरोपमा निलम्बन गरिएको प्रहरीले जनाएकाे छ।

प्रहरी जवान द्विवेदीले बिहीबार सदरमुकाम जलेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा आफ्नै नामको रु तीन हजारको एउटा तथा रु चार हजारको अर्को चेक सदर गरी पुनः रु तीन हजारको चेकलाई रु ३० हजार तथा रु चार हजारको चेकलाई रु ४० हजार लेखेर बैंकको काउण्टरबाट रु ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशङ्कर यादवले बताउनुभयो ।

बैंकमा बिहीबार हिसाब मिलान गर्दा नमिलेपछि सबै चेक जाँच गर्दा द्विवेदीले चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले प्रहरीलाई जानकारी गराउनुभएको थियो ।