नेपालगञ्ज म्याराथनसँग ‘धारा तेल’

0
Shares

नेपाल समाचारपत्र, बाँके । 

क्रियटिभ ह्याण्डस् र केएल दुगड गु्रपका बीचमा सम्झौता भएपछि नेपालगञ्ज म्याराथनसँग मुख्य प्रायोजक धारा तेल जोडिएको छ। आइतबार केएल दुगडका महाप्रबन्धक प्रदीपकुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि ठकुरीले बताए, ‘धाराको नारा ‘मुटु चाहिन्छ मुटु’सँग म्याराथनको कहि न कहि तालमेल हुन आउँछ।

म्याराथन दौडका लागि तयार हुन पनि मुटुनै चाहिन्छ।’सरकार र तत्कालिन विद्रोह माओवादीका बीचमा मंसीर ५ गते बृहत शान्ति सम्झौता भएको दिनको सम्झनामा नेपालगञ्ज म्याराथन हुँदै आएको छ। यसपाली शनिबार पारेर प्रतियोगिता कार्यक्रम गरिँदैछ।

आयोजकका अनुसार, पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको छ। त्यसैगरी ८ देखि १२ बर्ष उमेर समूहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरूको लागि पनि दौड स्पर्धा समेटिएको छ।

यस बर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ। यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरूले सहभागिता जनाउने अध्यक्ष ठकुरीले बताए।

खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफम्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ। अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ। कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।