राज्यलाई आत्मनिर्भर बनाउनको लागि कर : अर्थमन्त्री

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

अर्थमन्त्री डा. युवराज खतिवडाले राज्यलाई आत्मनिर्भर बनाउनको लागि क्षमता अनुसारको कर लगाइएको बताउनुभएको छ। आठौं कर दिवसको साताव्यापी कार्यक्रमको आइतबार उद्घाटन गर्दै उहाँले धेरै कर लगाएर अलोकप्रिय बन्यो भनेर चर्चा नगर्न समेत आग्रह गर्नुभयो।

भित्र अँध्यारोमा बसेर बाहिर निस्कदा उज्यालोले आँखा तिरमिर हुने र केही समयमा पुनः त्यो समस्या ठिक हुँदै जाने बताउँदै अहिले व्यवसायी जगतमा पनि यही समस्या देखिएको उल्लेख गर्नुभयो। ‘हामी अहिले अँध्यारोबाट उज्यालोमा जाने तर्खरमा रहेका छौं।

त्यसको शुरूवात भीसीटीएस प्रणाली, प्यान नम्बरबाट सफल भइसकेका छौं। अब सबै प्रणालीमा बानी पर्छ। सबैको यात्रा अब उज्यालोतर्फ नै हो,’ उहाँले भन्नुभयो। भर्खरै सरकारले केही करको दरमा परिवर्तन गरेको र त्यसको कारण भने व्यावसायिक वातावरणमा देखिएको समस्या नै रहेको मन्त्री खतिवडाले उल्लेख गर्नुभयो।

आर्थिक ऐनले दिएको सुविधाअनुसार नै करको दरमा परिवर्तन गरेको उहाँले जिकिर गर्नुभयो। सरकारले यति बेला व्यवसायीको लागि सहज व्यावसायिक वातावरण बनाउन कानुन निर्माणलगायतको काम गरिरहेको उहाँले जानकारी दिनुभयो।

राजस्व चुहावट ऐनमा जेल हाल्ने कुरा पहिलाको भन्दा केही घटाएको समेत उहाँको भनाइ छ। उहाँले भन्नुभयो–‘पहिला त्यो विषयमा निजी क्षेत्र क्षेत्र केही बोलेन, अहिले किन यत्रो चर्चा भएको हो मैले पनि बुझेको छैन।’

संसदले बनाउने कानुन पालना गर्दिन भन्न कसैले पनि नपाउने भएकाले त्यसको बहस समितिको बैठकमा नै गर्न उपयुक्त हुने उहाँले बताउनुभयो। सुधारको तयारीमा रहेका केही कानुन समयमा नै सुधार गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

अर्थमन्त्री डा. खतिवडाले सरकारले मोबाइलबाट नै कर तिर्ने वातावरण बनाउनेतर्फ लागेको उल्लेख गराउनुप¥यो। व्यवसायीले स्वेच्छिक रुपमा मोबाइलबाटै कर तिर्दा त्यसमा अनुगमन आवश्यक पर्ने जनाउनुभयो।

उहाँले तयारी पोशाक र भन्सार दरमा केही नमिलेको भएर त्यो मिलाउन सरकार तयार रहेको पनि जानकारी गराउनुभयो।अनौपचारिक रुपमा रहेको व्यवसायलाई औपचारीक रुपमामा ल्याउने र कतिपयले गैर कानूनी काम गरेका भए त्यसलाई कानुनी रुपमा ल्याउनेतर्फ सरकार लागेको उहाँले उल्लेख गर्नुभयो।