तस्वीरका कारण बालिकाको विद्यालयमा भर्ना

0
Shares

नयाँदिल्ली, (एजेन्सी)। 

दक्षिणी भारतीय शहर हैदरावादमा एकजना बालिकाले विद्यालयको कक्षा कोठामा चियाउँदै गरेको एउटा मार्मिक तस्वीर भाइरल भएपछि अन्ततः ती ५ वर्षीया बालिकालाई विद्यालयमा भर्ना गरिएको छ। दिव्या नामक ती बालिका स्थानीय सुकुम्वासी क्षेत्रमा बस्ने गर्छिन्।

स्थानीय सरकारी विद्यालयको कक्षाकोठामा अन्य विद्यार्थी पढ्दै गरेको अवस्थामा दिव्याले निकै रहर भरिएका आँखाले चियाइरहेको तस्वीर व्यापक रुपमा प्रचारप्रसार भएको थियो। उक्त हृदयविदारक तस्वीर गत ७ नोभेम्बरमा एउटा तेलेगु अखवारमा छापिएको थियो।

उक्त तस्वीरको क्याप्सनमा ‘भोकाएको नजर’ राखिएको थियो। यस तस्वीरले तत्कालै मानिसका ध्यान आकर्षण गर्न सफल भयो। एकजना बालबालिका अधिकारवादी अभियन्ताले ‘अझै एक बालिका खाना र शिक्षाको अधिकारबाट वञ्चित हुँदै’ भन्ने क्याप्सनसहित सो तस्वीर फेसबुकमा राखेका थिए।

यसबाट यति धेरै जनप्रतिक्रिया प्राप्त भए कि भोलिपल्टै सो विद्यालयले दिव्यालाई निशुल्क भर्ना गर्यो। तर दिव्याका पिता एम लक्ष्मणले भने सो तस्वीरले आफू र स्वीपरको रुपमा काम गर्र्ने आफ्नी पत्नी यशोदालाई भने अन्याय गरेको बताउँछन्।

उनले बीबीसीलाई भने,‘त्यो तस्वीर देखेपछि मलाई निकै दुख लाग्यो। हामी आमाबुबा दुबै उनको भविष्य बनाउन कडा मिहेनत गरिरहेका छौं। तर दिव्यालाई एक भोको अनाथको रुपमा प्रस्तुत गरियो। छ वर्ष पुगेपछि दिव्यालाई एउटा सरकारी छात्रावासमा भर्ना गरिदिने हाम्रो योजना थियो।

हाम्रा अन्य दुई छोरी पहिलेदेखि नै त्यहाँ अध्ययनरत छन्। लक्ष्मणको कलेज पढन लागेका एकजना छोरा पनि छ। उनी कवाडी वस्तु टिप्ने काम गर्दछन्। तिनीहरु सबै हैदरावादको सुकुम्वासी क्षेत्रको एउटा मात्र कोठा भएको झुपडी बस्छन्।्