एक दम्पतीले आफ्नो विवाहमा पाएको दक्षिणा गरे शिक्षा र स्वास्थ्यमा खर्च


सरस्वती न्यौपाने, रसुवा ।
उत्तरी रसुवाका एक दम्पतीले आफ्नो विवाहमा पाएको दक्षिण शिक्षा र स्वास्थ्यमा खर्च गरेका छन् ।

गत बैशाखमा ठुलो भार्खू निवासी छ्योक्याल दोर्जे लामा र स्याफ्रुवेशी निवासी प्रतिमा तामाङको परम्परागत रुपमा विवाह सम्पन्न हुँदा इष्टमित्रबाट टिका लगाई आशीर्वाद दिँदा प्रदान गरेको दक्षिण रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरेको छन् ।

विवाहमा जम्मा भएको एक लाख ५० हजार रुपैयाँ दक्षिणालाई उनीहरुले सामाजिक काममा खर्च गरेका हुन् । उनीहरुले उक्त रकमबाट झोला, कलम, कापी, इलेजर, पेन्सील लगाएत पाठ्य समाग्री खरिद गरेर उत्तरी रसुवाको ग्रे आधारभुत निमावि, ग्राङ प्रा.वि. ठाडे निमाविका तिन सय ५० भन्दा बढी छात्रछात्रालाई वितरण गरिएको प्रतिमा लामाले बताइन ।

लामा दम्पतीले पाठ्य सामाग्रीको साथै विद्यालयका बालबालिका लाई निरन्तर सफा रहने बानीले विकास गराउन डिटोल साबुन ब्रस, मन्जन, नेलकटर र महिला विद्यार्थीका लागी सेनेटरी प्याड र भित्री भागमा लगाउने कपडा समेत वितरण गरेका थिए ।

स्थानीय वासीका अनुसार रसुवाकै इतिहासमा विवाहको दक्षिणा विद्यालय क्षेत्रमा खर्च गर्ने छ्योक्याल दोर्जे लामा र प्रतिमा तामाङ पहिलो जोडी हुन । ग्रामीण विपन्न विद्यार्थीको पठन—पाठन र स्वस्थ क्षेत्रमा सुधार ल्याउन गरिएको पहिलो प्रयासले छात्रमाझ होसलासमेत बढेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

विएस्सी नर्सिङ विषयको अध्ययन पुरा गरी स्वास्थ्य सेवा प्रदान गरिरहेको हुनाले पाठ्य सामाग्री र सरसफाईको सामाग्री वितरणको क्रममा महिला विद्यार्थीलाई महिनावारी हुँदाको असर र त्यसको न्युनीकरणबारे प्रशिक्षण दिएकी थिइन ।

बेहुली प्रतिमाले हिमाली जिल्ला रसुवाको कुनाकाप्चामा गरिव विद्यार्थी छन् उनीहरुलाई समय सापेक्ष आफु स्वास्थ्यकर्मी भएको नाताले स्वास्थ्य शिक्षिकाको रुपमा निरन्तर सेवा दिने बताइन् ।

छयोक्याल लामा बेहुला गोसाईकुण्ड गाउँपालिका–५ ठुलो भार्खु निवासी लामा सिङगी नुर्पु लामाका छोरा मेघा बैंक स्याफ्रुवेशीका प्रमुख हुन् भने बेहुली नेकपाका रसुवाका जिल्ला अध्यक्ष कर्नेल तामाङकी छोरी हुन् । उनी विगत वर्षदेखि स्वास्थ्य कार्यालय रसुवाले रसुवागढीमा सन्चालन गरेको हेल्थ डेस्कमा काम गर्थिन भने हाल उनी श्री कोमेन श्यामेवाङफेल माविमा विद्यालय नर्स रहेकी छन ।