विकासका काम प्रभावकारी र गुणस्तरीय ढङ्गले सम्पन्न गराउनु चुनौती होः मुख्यमन्त्री राई


भोजपुुर ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सङ्घीय सांसद सुदन किरातीले पक्की पुल र रङ्गशालाको आज एक साथ उद्घाटन गर्नुभएको छ ।

पिखुवा खोलामा  छ करोड बढी लागतमा बन्ने पक्की पुलको शिलान्यास गरिएको हो । यसले भोजपुर नगरपालिका–१२ र राप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने छ ।

त्यस्तै आज नै भोजपुर रङ्गशालाको पनि शिलान्यास गरिएको छ । रङ्गशाला प्रदेश नं १ शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा निर्माण हुने भएको हो ।

रङ्गशाला विसं २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । कार्यक्रममा मुख्यमन्त्री राईले भोजपुरलाई नमूना जिल्ला बनाउन आफू लागि परेको बताउनुभयो ।

उहाँले विकासको पूर्वाधार मुख्य आधार सडक रहेकाले आफ्नो कार्यकालमा १३ वटा पक्की पुल निर्माण गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

विकास निर्माणका लागि बजेट अभाव नरहेको उल्लेख गर्दै उहाँले कामलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

राईले भन्नुभयो, “हामीसँग बजेटको अभाव छैन, तर थालिएका काम प्रभावकारी र गुणस्तरीय ढङ्गले सम्पन्न गराउनु आजको चुनौती हो, यसमा स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।”

पुललाई समयमै गुणस्तरीय ढङ्गले सम्पन्न गराउन पहल गर्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो ।

पक्की पुल नहुँदा खोलाबाटै सवारीसाधन तार्नु पर्दा निकै सास्ती हुँदै आएको थियो । रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकालाई जोड्ने सो मुख्य सडकखण्ड हो ।

पुल निर्माण सम्झौताअनुसार दुई वर्ष अर्थात विसं २०७८ असारसम्म सम्पन्न गरिसक्नुपर्नेछ । निर्माणको जिम्मा मार्सेली निर्माण सेवाले लिएको छ ।
रासस