कारागारबाट एक कैदी फरार


न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको क्षेत्रीयस्तरको भीमफेदी कारागारबाट एक कैदी फरार भएका छन् ।

सजाय काटिरहेका करिब ३० वर्षीय कुलदीपराज धामी फरार भएको कारागार प्रमुख जेलर प्रकाश खनालले जानकारी दिनुभयो । धामी भरतपुर जेलबाट करिब १५ महिनाअघि भीमफेदी कारागार ल्याइएका थिए ।

धामीले जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल तोकिएका धामी ५ वर्षदेखि सजाय काटिरहेका थिए ।

सुरक्षामा सशस्त्र प्रहरी खटिए पनि कैदी भाग्न सफल भएका हुन् । कारागार सुरक्षामा सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा ५९ सशस्त्र तैनाथ छन् ।

कारागारमा रहेका कैदीको आन्तरिक प्रशासनले शनिबार राति पौने १० बजे आफूलाई खबर गरेपछि तत्काल खोजी कार्य अघि बढाइएको खनालले बताउनुभयो । शनिबार राति करिब ९ देखि ११ बजेबीचमा धामी भागेको हुनसक्ने जेल प्रशासनले बताएको छ ।

कारागार वरिपरि १२ फिट अग्लो पर्खाल रहेकोले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

कारागारबाट कैदी फरार भएपछि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी बताउनुभयो ।

पर्खालको केही सानो भागमा खाली रहेकाे र त्यहाँ तार तानिएको भेटिएकोले धामी त्यहींबाट भागेको हुनसक्ने अनुमान गरिको उहाँले बताउनुभयो ।

धामीको खोजीका लागि उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीको साबिक बकलौरी गाविस–४ मा अर्लट गरिएको खनालले जानकारी दिनुभयो । कारागारको ‘क’ ब्लकमा रहेका धामी जेलका सहनाइके हुन् ।

वर्ण कालो, हरियो सर्ट लगाएको, तराई मुलका जस्तो देखिने, कपाल छोटो, फुलेको, होचो शरीर भएका उनलाई देख्नेले खबर गरिदिन आग्रह गरिएको छ ।