स्काइभेटर मर्मत गर्ने क्रममा एकको मृत्यु


न्युज अफ नेपाल, पर्वत ।

पर्वतको बिहादी गाउँपालिकामा पुल निर्माणका लागि प्रयोग भएको स्काइभेटर मर्मतका क्रममा चोट लाग्दा एक जनाको मृत्यु भएको छ ।

पर्वतको बिहादी गाउँपालिका वडा नं ३ रानीपानीकोे इमिचौरमा स्काइभेटर मर्मत गर्दा सोही स्काईभेटरका सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्युठान जिल्लाको मक्षी भन्ने ठाउँ बस्ने २३ वर्षीय महेन्द्र जिसी रहेका छन । शनिबार बेलुका छ बजे बिग्रेको स्काइभेटर मर्मतको क्रममा जिसीको छातिमा गम्भीर चोट लागेको र पाल्पाको तानसेन स्थित मिसन अस्पतालमा उपचारका क्रममा शनिबार राती ११ बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

मृतक जिसी छिमेकी गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका ३ जयखानीबाट रानीपानी जोड्ने कालीगण्डकीको पुल निर्माण गरिरहेको एलाईड कन्स्ट्रक्सन प्रालिमा कार्यरत थिए ।

मर्मतको क्रममा स्काइभेटरको चेनको टुक्रा उछिटिएर जिसीको छातिमा लागेको थियो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।