लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु

राजनीतिक दलको क्याडर बनेकाहरुले पत्रकारिताको कुरा गर्न नसुहाउने ठहर


यमलाल भुसाल, लुम्बिनी ।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा आइतबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु भएको छ ।

संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार भन्ने नाराका साथ सुरु भएको महोत्सवमा मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको क्लबका अध्यक्ष दिपेश पछाईले बताउनु भयो ।

मंसिर ३ गते सम्म चल्ने न्यूज फेस्टिबलको आइतबार दिउँसो ३ बजे प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले बताउनु भयो ।

उदघाटन अघि आईतवार विहानभएको ‘पत्रकारिता ः चुनौती र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अहिले एउटै पत्रकार विभिन्न सञ्चारमाध्यममा काम गर्नु पर्ने बाध्यता रहेको बताए ।

उनीहरुले सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेको बताएका छन् ।

अहिलेको समयमा पत्रकारिता क्षेत्रमा विभिन्न समस्याहरु देखिएकोले त्यसको समाधानको लागि सम्पूर्ण सरोकावालाको ध्यान केन्द्रीत हुनुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले अहिले खासगरी अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारहरुका बारेमा काउन्सीलमा उजुरी आएको बताउनु भयो ।

उहाँले पत्रकारिता हतारमा गर्न नहुने बताउनु भयो । हुबहु/कपिपेष्ट पत्रकारिताले सञ्चार क्षेत्रका मुख्य समस्या हुन्, खोजमूलक पत्रकारिताको आवश्यकता छ, उहााको कथन थियो ।

वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता शास्त्र–विज्ञान भएकोले यो कहिल्यै नसकिने बताउनु भयो । उहाँले पत्रकारहरुले न्यूनतम पारिश्रमिक समेत नपाएको तथा स्थानीय सञ्चारमाध्यम सञ्चालनमा समेत समस्या आएको बताउनु भयो ।

खोज पत्रकारिता केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले लुकेका र लुकाएका कुराहरु सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्साउनुपर्ने बताउनु भयो । उहाँले सञ्चारमाध्यम सरकारको प्रवक्ता नबनी सरकारलाई प्रश्न गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, परम्परागतथ मिडियाको शैलीका कारण रेडियोका श्रोता घटे, दैनिक पत्रिकामा कुपोषण लाग्यो, टेलिभिजन हेर्ने सामाजिक सञ्जालमा लागेकाले पत्रकारितामा चुनौती बढेकाे छ ।

पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारहरु दोहारो चरित्रमा बसेर पत्रकारिता गर्दा निष्पक्ष पत्रकारिता हुन नसक्ने दावी गर्नु भयो ।

उहाँले राजनीतिक दलको क्याडर बनेकाहरुले पत्रकारिताको कुरा गर्न सुहाउँदैन भन्दै पत्रकारको संख्या बढे पनि उनीहरुको गुणस्तरमा वृद्धि हुन नसक्दा समाजले खोजेको पत्रकारिता हुन नसकेको बताउनु भयो ।

वरिष्ठ पत्रकार मोहन मैनाली पत्रकारिताको लागि आवश्यक कुराहरुको बारेमा जानकारी हुन आवश्यक रहेको बताउनु भयो । उहाँले खोजी पत्रकारिताको बाटोमा जानुको विकल्प नरहेको बताए ।

कान्तिपुर टेलिभिजनका रामकृष्ण भण्डारीले विचारबाट प्रभावित भएर समाचार बनाउन नहुनेमा जोड दिनु भयो ।

नागरिक दैनिक प्रदेश ५ प्रमुख रेखा भुसालले मोफसलमा बसेर बिट पत्रकारिता गर्न अप्ठ्यारो भएको बताउनु भयो ।

उहाँले कतिपय अवस्थामा आयोजकले केही कार्यक्रममा एउटै समुहलाई बोलाउने र त्यो कार्यक्रममा गएका पत्रकारले सबै सञ्चारमाध्यममा एउटै समाचार पठाउने गर्नाले कपि पेष्ट जस्तो देखिएको बताउनु भयो ।