पैसाका लागि ज्यान जोखिममा पारेर हिमाल चढ्नु बहादुरी होइन

0
Shares

आङङिमा शेर्पा
लोबुचे, सोलुखुम्बु

आङङिमा शेर्पा सगरमाथा आधारशिविर जाने मार्गका प्रभावशाली व्यवसायी हुनुहुन्छ। करिब पाँच हजार मिटरको उचाइमा रहेको लोबुचेमा उहाँको होटेल तथा लज सञ्चालनमा छ भने खुम्बु क्षेत्रका अन्य नाकाहरूमा पनि उहाँको व्यापार फैलिएको छ। शेर्पा जाति हिमाल चढ्ने र असामयिक तथा दुःखद निधनको सिकार हुने अवस्थाप्रति चिन्तित उहाँ ज्यानको बाजी लगाएर हिमाल चढ्नु र आश्रितहरूलाई बिचल्लीमा पार्नु मूर्खतापूर्ण कार्य हो भन्नुहुन्छ। प्रस्तुत छ, कपिल काफ्लेअर्जुन कार्कीले नेपाल समाचारपत्रका लागि पाँच हजार मिटरमा शेर्पासँग गरेको कुराकानी :

सामान्य मान्छेलाई दुई हजार पाँच सयको उचाइदेखि नै लेक लाग्न थाल्छ। तर तपाईंले पाँच हजार मिटरको उचाइमा व्यवसाय सञ्चालन गर्नुभएको छ, कसरी यो ठाउँलाई छान्नुभयो ?

मेरो बाआमाले पहिलादेखि यहाँ होटेल चलाउनुहुन्थ्यो। यो ठाउँमा सबभन्दा पहिले होटेल व्यवसाय गर्ने नै मेरो बा हुनुहुन्थ्यो। उहाँको नाम दरिने शेर्पा हो। पहिला यहाँ गोठ थियो। खर्कको हिसाबले चलेको थियो होटेल, पछि यही गोठले लजको रूप लियो।

आजभन्दा २५, ३० वर्षअघि मान्छे खाली पाल टागेर बस्थे। टि हाउस भनेर चल्दैन्थ्यो। लजको रूपमा चल्न थालेको २२ वर्षजति भयो। पर्यटक धेरै आउन थालेको १५ वर्षजति मात्र भयो। आठ–दश वर्ष भयो बढी चाप हुन थालेको। तर यसपाली भने विदेशी पर्यटकहरू घटे।

कारण के हो त ?

एउटा त डेंगू रोगका कारण र अर्को सिजनको बीचमा होटेल लज पाइँदैनन् भन्ने हल्लाले गर्दा हो। विदेशीहरू सानो–सानो कुरालाई पनि गम्भीररूपमा लिन्छन्, नेपालीजस्तो जे होला सोही टर्ला भनेर यात्रामा हाम फाल्दैनन्। डेंगू नै नेपाल आउन चाहने विदेशीलाई तर्साउने कारण हो।

डेंगू त यस पटकको कारण भयो, तर सधैंका लागि पर्यटक बढाउन के गर्नुपर्ला ?

पर्यटक बढाउन पूर्वाधारको क्षेत्रमा जोड दिनुपर्छ। भरियाको सेवा यस्तै आधारभूत पूर्वाधार हो। भरियालाई बढी सुविधा दिनसकियो र उनीहरूले पर्यटकलाई सघाए भने पूर्वाधारले पूर्णता पाउँछ। मैले देखेको, भरियालाई बढी दुःख छ।

उनीहरूलाई प्राथमिकतामा राख्नसकिएको छैन। सरकारले नै भरियाका लागि विशेष व्यवस्था गर्नुपर्छ। भरियाहरू भएनन् भने जति विदेशी पर्यटक आए पनि, होटेलहरू धेरै भए पनि के काम बिना भरिया उनीहरू जान सक्दैनन्।

भारी बोक्नेहरूलाई तपाईंले चाहिँ कसरी प्राथमिकता दिइराख्नुभएको छ ?

मैले टेन्डर पारेर राष्ट्रिय निकुञ्जको जग्गा भाडामा लिएँ। त्यहाँ भएको पुरानो घरलाई भत्काउने आदेश थियो तर नभत्काई ७० जनाजति भरियालाई बस्नदिने गरेको छु। पाहुना लिएर आउने भरियालाई मैले आफ्नो होटेलमा खाने बस्ने राम्रै व्यवस्था गरेको छु।

राज्यले केलाई प्राथमिकता दिनु पर्छजस्तो लाग्छ ?

धेरै कुरा छन् तर मुख्य चाहिँ सम्पर्कको लागि एनटीसीको टेलिफोन टावर सख्न जरुरत छ। एन सेल हामी चलाउँदैनौं राज्यबाट कमाएर राज्यलाई नै कर नतिर्ने कम्पनी हामीलाई चाहिँदैन। हामी एनटीसीकै माग गर्छौं।

विदेशीहरू लुक्लाभन्दा माथि नाम्चे बजार क्षेत्रलाई छोडेर सबैजसो ठाउँमा फोन सम्पर्कको व्यवस्था नभएको हुनाले उनीहरूको इन्टरनेट स्याटलाइटबाट डाइरेक्ट आफ्नो घरमा कुराकानी गर्छन्। यसले गर्दा राज्यलाई पनि त नोक्सान हुन्छ नि हैन ?

धेरै नै नोक्सान हुन्छ। हाम्रो यहाँ एभरेस्ट लिंक भन्ने छ यसको प्रयोगले नै काठमाडौंमा कुराकानी हुन्छ। आवश्यक पर्दा हेलिकोप्टर मगाउनेसम्मको एउटै माध्यम यही हो। यदि तपार्इंहरूले सहयोग गर्न सक्नुहुन्छ भने एनटीसीको टावर राख्न सरकारसँग पहल गरिदिनुहोस्।

सम्पर्कको माध्यम के छ ? त्यसको गुणस्तर कस्तो छ ?

हामी सगरमाथा आधार शिविर आउने र यहाँ बसोबास गर्ने सबैका लागि एभरेस्ट लिंक नामको इन्टरनेट सेवाले राहत दिएको छ। ६ सय रुपियाँको रिचार्ज कार्ड किन्ने, मोबाइल रिजार्च गर्ने, इन्टरनेटबाट सञ्चार सेवा लिने। राम्रै छ, त्यति ठूलो गुनासो छैन। यात्रुहरू यसमै निर्भर छन्। ठूलो भिडियो र फोटो पठाउन अलि गाह्रो भएपनि काम चलिरहेकै छ।

अधिकांश शेर्पा पर्वतारोहणमा छन्, तपाईं चाहिँ होटेल व्यवसायमा लाग्नुको कारण के हो ?

शेर्पाहरू जो पैसाका लागि कठिन हिमाल चढिरहेका छन्, उनीहरू सीमित अवसरका कारण त्यसो गर्न बाध्य भएका हुन्। पढेलेखेका शेर्पाहरू अरू सुरक्षित पेसामा लाग्छन् भन्ने मेरो विश्वास छ। पैसाका लागि हिमाल चढ्नु बहादुरीको परिचायक होइन, मूर्खताको चिनारी हो।

एकथरी शेर्पाहरू पैसाकै मात्र पछि लागेका छन्। समाजका लागि राम्रो काम यसो गरौं भन्दा पनि कति पैसा आउँछ भन्छन्, त्यो मलाई मन पर्दैन। देशको इज्यत राख्नभन्दा पनि पैसा कमाउन हिमाल चढ्छन शेर्पाहरू। यसले गर्दा अरू पेसामा उनीहरूको आँखै लाग्दैन।

विदेशी पर्वतारोहीहरू अहिले पनि गाइडको रूपमा शेर्पालाई नै रोज्छन्। उनीहरू शेर्पालाई हिमालको डाक्टर भन्छन्, अरू जाति पनि यस क्षेत्रमा उत्तिकै जानकार छन् ?

यो पहिलादेखि बसेको छाप मात्र हो। हिमाली भेगमा शेर्पा जाति मात्र बस्न सक्छन् भन्ने मान्यता छ। जुन मान्छेको फोकस जहाँ छ त्यही मान्छेलाई नै खोजिन्छ। मुद्दा खेप्ने मान्छेले वकिल नै खोज्छ नि, हैन र ?

शेर्पाहरूले हिमाललाई चिन्छन्। उनीहरूलाई हाइअल्टिच्युट लाग्दैन भन्ने हाम्रो मान्यता छ। खासमा तेञ्जिङ नोर्गे शेर्पाले सिर्जना गरेको विरासतका कारण विश्वमा पर्वरोहणका लागि शेर्पाको खोजी हुनेगरेको छ।

अहिलेको सन्दर्भमा शेर्पाका छोराछोरीहरू धेरै विदेशमा छन्, तपाईंलाई कस्तो लाग्छ ?

मैले चेतना पाएसँगै, १६ वर्षको उमेरदेखि शेर्पाहरूले स्थायी बस्नेगरी विदेश जानुहुन्न भन्दै आएको छु। आफ्नै देशमा काम गरेर देखाउनुपर्छ भन्ने मेरो धारणा छ। काम गर्न जान्यो भने विदेशमा भन्दा धेरै पैसा यहीँ कमाइन्छ। किन जानुपर्यो विदेश ?

अमेरिका जाने मौका पाउँदा पनि नगएको मान्छे हुँ म। म पढेरभन्दा परेर अनुभवी भएको मान्छे हुँ। जागिरभन्दा व्यापार सयौं गुणा राम्रो र पैसा कमाउने माध्यम हो। मैले आफ्ना छोराछोरीलाई पनि विदेश पठाएको छैन।

शेर्पा समुदाय हिमाल चढ्नमा विश्व प्रसिद्ध छ। उनीहरूलाई तपाईंको सुझाब के त ?

नेपालमा शेर्पा समुदायको फन्डरेज गर्ने मान्छे छैन। शेर्पा समुदायले फन्डरेज गरेर दुःखीहरूको सेवा गर्नुपर्छ।

पेसागतरूपमा के सल्लाह दिनु हुन्छ ?

मानिसहरूको माग हो। व्यवहार हो। शेर्पाहरूको आफ्नो इच्छा हो। पहिला विकल्प नहुँदा पो त हिमाल चढ्नु बाध्यता थियो, अहिले त इच्छा मात्र हो। बाध्यता छैन। अरू काम पनि गर्न सकिन्छ। विकल्प हुँदा पनि शेर्पा नै चाहिन्छ भन्ने कुरा मलाई मन पर्दैन।

आङङिमाजी, पढ्नलेख्न आउँदैन भन्नुहुन्छ। तर, कुनै राजनीतिज्ञले जस्तो तर्क दिएर कुरा गर्नुहुन्छ, यो कसरी ?

म आफ्नो क्षेत्रमा भएका हरेक कुराको जिज्ञासा राख्ने गर्छु। जिज्ञासा राख्दा कति मान्छेलाई मन नपरेर मलाई दुःख पनि दिए। दुःखले खारिएर पनि म टाठो भएँ। अर्कोे कारण एउटा केआरसीसी भन्ने संस्था छ।

त्यो संस्थाको मलाई अध्यक्ष बनाए समाजमा मैले राम्रो काम गरेको हुनाले। संस्थाको अध्यक्ष भएपछि धेरै ठाउँमा तालिम पनि लिने मौका पाएँ, त्यसले गर्दा पनि मलाई फाइदा भयो।

तपाईंको समाजमा महिला र पुरुषमा कतिको विभेद पाउनुहुन्छ ?

विभेद खासै छैन। पहिलेको भन्दा धेरै परिवर्तन भएको छ मानसिकरूपमा। तर, काम गर्ने तौर–तरिकामा त फरक छँदैछ। महिलाहरू पुरुषहरूको दाँजोमा बढी सुबिधा खोज्छन्। बाहिर गएर काम गर्न चाहँदैनन्, कमाउने कामका लागि घर छोड्नुपर्ने हुन्छ, त्यसो गर्न चाहँदैनन्। घरमै बसेर भित्रको काम गर्न सजिलो र सुबिस्ता ठान्छन्।

शेर्पा समुदायका केटाकेटी पनि छिटो विवाह गर्न थालेका हुन् ? माबाइलले केटाकेटीलाई छिटो सम्पर्कमा ल्याउन थाल्यो पनि भनिन्छ ?

मेरो विचारमा १६ वर्षदेखि २२ वर्षसम्मका युवायुवतीलाई मोबाइल चलाउन रोक लगाउनु पर्छ। किनभने फेसबुक, इमेल, इन्टरनेटका कारणले धेरै व्यक्तिहरू बिग्रेका छन्। पढ्ने बेलामा यस्ता साधनले केटाकेटीलाई बरालिदिएको छ।

शेर्पा समुदायमा कुन कुन उमेरमा विवाह भएको पाइन्छ ?

पहिला पहिला १६, १७ वर्षमा नै गर्थे तर आजभोलि पढेलेखेकाहरू आफ्नो खुट्टामा उभिएपछि मात्रै गर्छन्, त्यस्तै २५, ३० वर्षमा।

धेरै महिला केमा संलग्न छन् त ?

व्यापार व्यवसायमा नै संलग्न छन्। तर, घरभित्रका काममा रुचि लिन्छन्। बाहिर जाने काम उनीहरूलाई मन पर्दैन। तर, हातमा पैसा खेलाउने हो भने बाहिरको कामा पनि लगाउनुपर्छ।

अन्त्यमा, तपाईं कति व्यापारी र कति समाजसेवी ?

म विशुद्ध समाजसेवी हुँ। यहाँ कसैलाई अप्ठ्यारो पर्दा पहिले मलाई नै सम्झिन्छन्। हिजै मात्र छिमेकी लजमा एकजना विदेशी सुतेकै ठाउँमा मर्यो। कसैले शव छोएन, मलाई नै बोलाउन आए। प्रहरी बोलाएर जिम्मा लाइदिएँ।

अन्त्यमा के भन्नुहुन्छ ?

हामी सगरमाथा आधार शिविरमा नेपाली पर्यटकको चाप बढोस् भन्ने चाहन्छौं। तर, विदेशीलाई पाएसम्म नेपालीहरूलाई हवाइजहाज टिकट नै दिइँदैन भन्ने गुनासो छ, यसो हुनुभएन।

अर्को यहाँ हाइड्रोपावर सञ्चालन भएर विद्युत उत्पादन गर्न सके राम्रो हुनेथियो, पानी त्यत्तिकै खेर गएको छ, हामी सोलारको मधुरो बत्तीमा गुजारा चलाइरहेका छौं। यो कुरा पनि मिडियामार्फत सरकारसम्म पुर्याइदिनुहोला।