‘खुला क्षेत्रमा कंक्रिटको संरचना बन्न दिन्न’

0
Shares

ललितपुर, (नेस)।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका खुला क्षेत्र संरक्षण गर्न योजनाबद्ध ढंगले काम गरेको बताउनुभएको छ। उहाँले खुला क्षेत्रमा कंक्रिटको कुनै पनि संरचना बन्न नदिने नीति महानगरको भएको स्पष्ट पार्नुभएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले खुला क्षेत्र संरक्षणका लागि जनचेतना जगाउन ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गरेको खुला कार्यक्रममा नगर प्रमुख महर्जनले उक्त कुरा बताउनुभएको हो।
‘हामीले प्रत्येक वडामा हरियालीसहितको पार्क, बगैंचा निर्माण गर्ने योजनाअनुसार काम गरिरहेका छौं।’ –उहाँले भन्नुभयो।उहाँले ललितपुर महानगरपालिको भित्री बस्तीमा खुलाक्षेत्र कम भए पनि ललितपुरलाई महानगर घोषणा गर्दा यसमा गाभिन आएका अन्य वडाहरूमा खुला क्षेत्र प्रशस्त भएको बताउनुभयो।
खुला क्षेत्रको संरक्षणले विपद्का बेला हुने क्षति कम गर्न सहयोग गर्ने उहाँको भनाइ थियो।आईओएमका चिफ अफ मिसन लोरेना ल्यान्डोले विपद्को पूर्वतयारी गर्दा खुला क्षेत्रको पहिचान र संरक्षण अत्यावश्यक भएको बताउनुभयो। उहाँले थाई जनताको सहगोगमा बुङ्मतीमा निर्माण भइरहेको बहुउद्देश्यीय भवन विपद्का बेला अत्यन्तै उपयोगी हुने बताउनुभयो।