तीन वर्षभित्र प्रत्येक घरघरमा खानेपानीः कार्यवाहक मुख्यमन्त्री गुरुङ


तनहुँ ।

गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले तीन वर्षभित्र प्रत्येक घरधुरीमा खानेपानी पुर्याइने बताउनुभएको छ ।

तनहुँको भानु नगरपालिका–३ चाम्बास बृहत् लिफ्टिङ खानेपानी योजनाको आज शिलान्यास गर्दै उहाँले खानेपानी सुविधा नपुगेका हरेक घरमा खानेपानी सुविधा पुर्याउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

कार्यवाहक मुख्यमन्त्री गुरुङले स्थानीय तहसँग मिलेर घरघरमा खानेपानी सुविधा पुर्याउन प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने बताउँदै अझै पनि प्रदेशका धेरै जिल्लामा खानेपानीको सुविधा पुग्न सकेको छैन भन्नुभयो । उहाँले भन्नुभयो, “ती सबै घरधुरीमा तीन वर्षभित्र खानेपानी पुर्याइन्छ ।”

रु चार करोड ९९ लाख ९२ हजार १४० को लागतमा सो खानेपानी आयोजना निर्माण हुन लागेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । तीमध्ये करीब ५० लाख स्थानीयवासीको लागत सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

खानेपानी योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको चाम्बास बृहत् लिफ्टिङ खानेपानीका अध्यक्ष पूर्णबहादुर तामाङले जानकारी दिनुभयो । मस्र्याङ्दी नदीको पानीलाई डेढ किलोमिटर माथि तानेर २७६ घरधुरीमा खानेपानी सुविधा पुर्याइनेछ ।

खानेपानीको असुविधा रहेको यस ठाउँमा खानेपानी आयोजना शिलान्यास भएसँगै खुशी छाएको स्थानीयवासी हरिमाया थापाले जानकारी दिनुभयो ।

रासस