म्याग्दी मिडिया सोसाइटीको वार्षिक साधारणसभा सम्पन्न


प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दी मिडिया सोसाइटीको शनिबार सदरमुकाम बेनीमा तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटनसत्रमा सोसाइटीका सचिव अमित विश्वकर्माले प्रगति, कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यले आर्थिक प्रतिवेदन र कार्यसमिति सदस्य सन्तोष गौतमले म्याग्दीमा पत्रकारिताको विगत र वर्तमान अवस्थाबारे अवधारणापत्र प्रस्तुत गरेका थिए ।

साधाणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले स्थानीय तहहरुले सूचना तथा विज्ञापनहरु स्थानीय सञ्चारमाध्यमहरुमा नै प्रकाशित र प्रसारण गर्न सुझाव दिएका छन् ।

उनले विज्ञापनकै कारण समाचारका स्रोतहरु लुक्न नहुनेमा जोड दिँदै पत्रकार र सञ्चारमाध्यमहरुले तथ्यपरक सूचना, सन्देशहरु सम्प्रेषण गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले समाजमा सत्य, तथ्य र सन्तुलित समाचारजन्य विषयवस्तुहरु सम्प्रेषण गर्न आवश्यक रहेको बताउँदै जिल्लाको विकास निर्माणमा देखिएका समस्या, बिकृति र विसङ्गतिलाई पत्रकार तथा सञ्चारमाध्यमले उठाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कार्यालय सदस्य बालकृष्ण सुवेदी, नेपाली कांग्रेसका जिल्ला सहसचिव भरत रकाल, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, म्याग्दीकाली सञ्चार सहकारीका अध्यक्ष प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र वर्तमान सचिव गोरखनाथ सुवेदीले मन्तव्य राखेका थिए ।

साधारणसभाको अवसरमा म्याग्दी मिडिया सोसाइटीले स्थापना गरेको मिडिया अवार्डबाट संस्थाका कोषाध्यक्ष एवं म्याग्दीका क्रियाशिल पत्रकार ठाकुरप्रसाद आचार्यलाई नगद छ हजार पाँचसय रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

पत्रकार आचार्य स्थानीय नवविकल्प साप्ताहिक पत्रिकाका प्रकाशक-सम्पादक तथा सरकारी सञ्चारमाध्यम गोरखापत्र राष्ट्रिय दैनिकका म्याग्दी जिल्ला संवाददाता हुन् । उनी नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष समेत रहेका छन् ।

यसैगरी ग्रामीण क्षेत्रबाट पत्रकारिता गर्दै आइरहेको भन्दै अन्नपूर्ण–५, शिखका सेते तिलिजा र रघुगंगा–१, बेगखोलाका दलप्रसाद तिलिजालाई पनि सम्मान गरिएको छ ।