किसानले उब्जाउने गाउँपालिकाले बेच्ने

0
Shares

बुद्ध नेपाली, सिन्धुली। 

सिन्धुलीको सुनकोशी गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजहरू सोझै खरिद गरी बजारसम्म पुर्याउने भएको छ। गाउँपालिकाले सुनकोशी कृषि उपज संकलन केन्द्र स्थापना गरेर गाउँँपालिकाभरिका किसानले उत्पादन गरेको कृषि उपज खरिद गरी बजारमा बिक्री वितरण गर्ने भएको हो।

किसानले उत्पादन गरेको तरकारी, फलफूल, अन्नबालीलगायतका सम्पूर्ण कृषि उपज संकलनका लागि गाउँपालिकाले भवन निर्माण गरी सुनकोशी कृषि उपज संकलन केन्द्र स्थापना गरेको छ। गाउँपालिका र दुई गैरसरकारी संस्थाको साझेदारीमा कुल २६ लाख ९ हजार लागनमा गाउँपालिकाले संकलन केन्द्र भवन निर्माण गरेको हो।

सुनकोशी गाउँपालिकाको १४ लाख ५१ हजार, सामुदायिक विकास कार्यक्रम सिन्धुली र मर्सिकोर नेपालको ११ लाख गरी कुल २६ लाख ९ हजारमा संकलन केन्द्र भवनको निर्माण भएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत सुन्दासका अनुसार कृषि उपज संकलन केन्द्र सञ्चालनका लागि गाउँपालिकाले संकलन केन्द्र सञ्चालन कार्यविधि नै निर्माण गरेको छ।उत्पादित फलफूल, तरकारी, अन्नबालीलगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न संकलन केन्द्र निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘किसानले अब आफूले उत्पादन गरेको कृषि उपज डोकोमा बोकेर डुलाउँदै हिँड्नुपर्दैन। किसानले एउटा काक्रा, एक मुठा साग, एक मुठ्ठी खोर्सानी जे उत्पादन गरे पनि त्यो गाउँपालिकाले उचित मूल्य दिएर किन्छ र त्यो उपभोक्तासम्म पुर्याउँछ’।

सुनकोशीको महाभारत क्षेत्र तरकारी र फलफुल उत्पादनको हिसाबले उर्बरभूमि मानिन्छ। सुनकोशीको चिसो हावापानी भएको महाभारत क्षेत्रमा रहेका नागी, चालिसे, बन्दिपुरलगायतका ठाउँमा तरकारी र फलफूल प्रसस्तै उत्पादन हुने गरेका छन्।

तर सडकको राम्रो सुविधा नहुदाँ र बजार अभावले गर्दा गाँउमै थन्किएर बसेका छन्। सुनकोशीमा तोरी पकेट क्षेत्र, आलु पकेट क्षेत्र रहेको छ।सुनकोशी गाउँपालिकामा बाहिरबाट आउने कृषिउपजलाई रोक्ने लक्ष्यका साथ संकलन केन्द्रको निर्माण गरिएको अध्यक्ष दाहालको भनाइ छ।

अहिले तराईका जिल्लादेखि काभ्रेको भकुन्डे, बनेपा, काठमाडौंसम्मको तरकारीहरू सुनकोशीमा भित्रिने गर्छ, उहाँले भन्नुभयो– ‘हाम्रो गाउँपालिकालाई आवश्यक कृषि उपजहरू हाम्रै किसान आफैंले उत्पादन गर्नसक्छन्।

किसानले उत्पादन गरेको सामाग्री एक ठाउँमा जम्मा गरेर वितरण गर्दा बाहिरी आयत रोकिन्छ।’संकलन केन्द्र सञ्चालनले विचौलीयाको अन्त्य गर्दै किसानले बास्तविक मूल्य पाउने अध्यक्ष दाहालको विश्वास छ।