नेपालले बंगलादेशबाट के सिक्ने ?


न्युज अफ नेपाल, काठमाडौं ।

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने भ्रमणका लागि मंगलबार नेपाल आइपुग्नुभएको छ । भारत वा चीनका राष्ट्रप्रमुख आउँदा जति चर्चा चलेको थियो तर बंगलादेशी राष्ट्रपतिको भ्रमणको खासै चर्चा छैन ।

बंगलादेशका राष्ट्रपतिको स्वागत र सम्मानमा सरकारले कञ्जुस्याई गरेको छैन । तैपनि सद्भावना भ्रमण भएकाले खासै ठूलो उपलब्धी केही नहुने सरकारी अधिकारीहरु स्वीकार्छन् । बंगलादेश नेपाललाई ठूलो सहयोग गर्न सक्ने सम्पन्न राष्ट्र नभएकाले पनि यस्तो भएको हुनसक्छ ।

अहिले बंगलादेशले नपत्याउँदो तरिकाबाट हात पारेको सफलतालाई विश्व बैंक, आईएमएफ लगायतले पनि प्रशंसा गरेका छन् । यसै वर्ष संयुक्त राष्ट्रसंघले बंगलादेश अल्पविकसितको सूचीबाट सन् २०२४ सम्म विकासील राष्ट्रमा उक्लिन सक्ने जनाएको छ ।

नेपाल र बंगलादेशको क्षेत्रफल करिब–करिब समान छ । नेपालको अर्थतन्त्र ३४ अर्ब डलर रहँदा बंगलादेशको अर्थतन्त्र साढे ८ गुणा ठूलो छ ।

बंगलादेश ऋण सहयोग लिएर नै अर्थतन्त्र बलियो बनाएको हो ।

एसियाली विकास बैंक (एडबी)का अनुसार दक्षिण एसियामा भारतलाई बंगलादेशले आर्थिक विकासको मामिलामा चुनौती दिइरहेको छ । बंगलादेशको आर्थिक वृद्धिमा उद्योग क्षेत्रको योगदान महत्वपूर्ण छ ।

भारतको अर्थव्यवस्थामा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी छ र उद्योग क्षेत्रको वृद्धिदर कमजोर छ । ठूलो जनसंख्या कृषिमा आश्रति भए पनि नेपाल तथा भारतीय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ ।

बंगलादेशको आर्थिक मेरुदण्ड कपडा (टेक्सटाइल) उद्योग हो । तर, अहिले सूचना प्रविधि उद्यमको मामिलामा पनि बंगलादेश बलियो बन्न थालेको छ । बंगलादेशले ‘डिजिटल बंगलादेश’ कार्यक्रम मार्फत प्रविधिमा भारतलाई पनि उछिन्ने गरी काम गर्दैछ ।

विश्व आर्थिक मञ्चमा बंगलादेशका सूचना प्रविधि मन्त्रीले दावी गरेका छन् कि बंगलादेशका १२० भन्दा बढी कम्पनीले एक अर्ब डलरभन्दा बढीको सूचना तथा औद्योगिक प्रविधि विश्वका ३५ देशमा निर्यात गरिरहेका छन् । सन् २०२१ सम्म यो यस्तो निर्यातबाट प्राप्त हुने रकम ५ अर्ब डलर पुग्नेछ ।

बंगलादेशको आर्थिक सफलतामा रेडिमेड कपडा उद्योगको सबैभन्दा ठूलो भूमिका रहेको मानिन्छ । बंगलादशेको कपडा उद्योगले नै त्यहाँ सबैभन्दा बढी रोजगारी सिर्जना गरेका छन् । त्यहाँ ४०.५ लाखले कपडा उद्योगमै रोजगारी पाएका छन् ।