स्थानीय तहमा बजेटसँगै औषधीको दुरुपयोग, वार्षिक ३ करोड ७० लाखको औषधी खरिद

वार्षिक ३ करोड ७० लाखको औषधी खरिद

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे

काभ्रेपलाञ्चोकमा रहेका १३ वटा स्थानीय तहमा आर्थिक वर्ष २०७५–२०७६ का लागि ३ करोड ७५ लाख ५० हजार रुपियाँको औषधी खरिद गरेका छन्। चालू आर्थिक वर्ष २०७६–२०७७ का लागि स्थानीय सरकार र प्रदेश सरकारको ३ करोड ७० लाख ५० हजार रुपियाँ विनियोजन भएको छ।

औषधी खरिदका लागि स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा १ करोड ८३ लाख ५० हजार रुपियाँ विनियोजन गरेका थिए भने प्रदेश सरकारले १ करोड ९२ लाख रुपियाँ विनियोजन गरेको थियो।

चालू आवका लागि स्थानीय सरकारको १ करोड ९७ लाख ५० हजार रुपियाँ विनियोजन गरेका छन् भने प्रदेश सरकारले १ करोड ७३ लाख रकम विनियोजन गरेको छ।
यसको अलावा संघ सरकारले पनि स्थानीय तहलाई औषधी खरिद गरी पठाउने गरेको छ। संघीयता नहुँदा काभ्रेपलाञ्चोकमा अहिलेको बजेटको एक तिहाई मात्रै आउँथ्यो।

अहिले संघ र प्रदेशले स्थानीय तहका लागि २५ प्रतिशत औषधी खरिद गरेर पठाउने गरेको छ। संघीयताले स्थानीय नागरिकलाई फाइदा पुर्याएको छ। औषधीमा सहजता भएको छ, तर उपलब्ध भएको औषधीको उपभोग भने सबै नागरिकले गरेका छैनन्।

औषधी खरिद गरेर उपभोग नगरी खेर जाने अवस्था पनि छ। विशेष गरी स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा औषधी लिन आउने व्यक्तिहरूको अवस्था न्यून छ। ग्रामीण भेगमा जनसंख्या कम हुने र बसोबास नै नभएपछि नागरिक स्वास्थ्य चौकीमा कम आउने गरेका छन्।

शहरी क्षेत्रमा निजी क्षेत्रका मेडिकल र अस्पतालसमेत भएकाले स्वास्थ्य चौकीहरूमा पुगेर औषधी खरिद गर्दैनन्। स्थानीय तहले खरिद गरेका सबै औषधी खपत नहुने बताए पनि बजेट विनियोजन गरेका आधारमा सबै रकम खर्च हुने गरेको छ।

स्थानीय तहमध्ये सबैभन्दा धेरै रकम विनियोजन गर्ने पनौती नगरपालिका रहेको छ। पनौती नगरपालिकाले २४ लाख, नमोबुद्ध, पाँचखाल नगरपालिका र भुम्लु, बेथान्चोक गाउँपालिकाले २०–२० लाख रकम विनियोजन गरेका छन्।

बनेपा र मण्डन देउपुर नगरपालिकाले १०–१० लाख रकम विनियोजन गरेका छन्। रोशी गाउँपालिकाले १८ लाख, धुलिखेल नगरपालिकाले ८ लाख, तेमाल गाउँपालिकाले १६ लाख, महभारत गाउँपालिकाले १६ लाख ५० हजार, खानीखोला गाउँपालिका १० लाख, चौरी देउराली गाउँपालिकाले ५ लाख रकम विनियोजन गरेका छन्।

आर्थिक वर्ष २०७५–२०७६ मा रोशी गाउँपालिकाले औषधी खरिद शीर्षकमा २५ लाख रकम विनियोजन गरेको थियो। उसले प्रदेश सरकारबाट १५ लाख प्राप्त गरेको थियो। ४० लाख रुपियाँको औषधी खरिद गर्ने रोशी गाउँपालिकाले चालू आवमा २६ लाख ५० हजारमात्रै बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारबाट ८ लाख ५० हजार प्राप्त गरेको गाउँपालिकाले चालू आवका लागि १८ लाख विनियोजन गरेको छ। रोशी गाउँपालिका जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका हो। जसमा १२ वटा वडा रहेका छन्। अघिल्लो वर्षको तुलनामा १४ लाख ५० हजार रकम कम विनियोजन भएको छ।

भुम्लु गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ३९ लाख ५० हजार रुपियाँको औषधी खरिद गरेको थियो। गाउँपालिकाको २० लाख रुपियाँ र प्रदेश सरकारको १९ लाख ५० हजार रुपियाँसमेत गरी भुम्लु गाउँपालिकाले खर्च गर्ने औषधी खरिदको बजेट चालु आवमा २८ लाख ५० हजार रुपियाँ खर्च गर्नेछ।

औषधी खरिदका लागि धुलिखेल नगरपालिकाले अघिल्लो वर्ष ७ लाख रुपियाँ विनियोजन गरेको थियो। नगरपालिकाका लागि प्रदेश सरकारले १९ लाख रकम विनियोजन गरेको थियो। २६ लाख रुपियाँको औषधी खरिद गरी धुलिखेल नगरपालिकाले स्वास्थ्य चौकीलाई उपलब्ध गराएको थियो।

चालू आर्थिक वर्षमा २४ लाख रुपियाँ खर्च गर्नेछ। नगरपालिकाले अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष २ लाख रुपियाँ कम बजेट विनियोजन गरेको छ। मण्डन देउपुर नगरपालिकाले अघिल्लो आर्थिक वर्ष १० लाख रकम विनियोजन गरेको थियो।

प्रदेश सरकारको १२ लाख ५० हजार रुपियाँसमेत गरेर २२ लाख ५० हजार रुपियाँ औषधी खरिदका लागि खर्च गरेको थियो।चालू वर्षमा २५ लाख ५० हजार रुपियाँ खर्च गर्नेछ। तेमाल गाउँपालिकाले अघिल्लो वर्ष १८ लाख रकम विनियोजन गरेको थियो। प्रदेश सरकारले १२ लाख विनियोजन गरेको थियो।

गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ३० लाख रुपियाँको औषधी खरिद गरे पनि यो वर्ष २४ लाख ५० हजार रुपियाँको औषधी खरिद गर्नेछ। बेथान्चोक गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा १० लाख रुपियाँ बजेट विनियोजन गरी प्रदेश सरकारको समेत गरी १६ लाख रुपियाँको औषधी खरिद गर्यो।

बेथान्चोकले चालू वर्षमा औषधी खरिदमा २० लाख रुपियाँ विनियोजन गरेको छ। २८ लाख ५० हजार रुपियाँको औषधी खरिदको बजेटमा ८ लाख ५० हजार बढाएको छ।
स्थानीय सरकारले विनियोजन गरेकोमा १० लाख रुपियाँ बढाएको छ।

पाँचखाल नगरपालिकाले २० लाख रुपियाँ विनियोजन गरेको छ। प्रदेश सरकारले १६ लाख ५० हजार रुपियाँ उपलब्ध गराएको छ। अघिल्लो वर्षको तुलनामा १ लाख रुपियाँ कम बजेट विनियोजन भएको छ। पाँचखाल नगरपालिकामा प्रदेश सरकारको अनुदानमा १ लाख रुपियाँ कटौती भएको हो।

अघिल्लो आर्थिक वर्षमा महाभारत गाउँपालिकाले औषधी खरिद शीषर्कमा १६ लाख रकम विनियोजन गरेको थियो। प्रदेश सरकारले ७ लाख रकम विनियोजन गरेको थियो। २३ लाख रुपियाँको बजेट अघिल्लो वर्षको तुलनामा यो वर्ष १ लाखले बढी हो।