बाघसम्बन्धी पुस्तक ‘पाटेबाघ’ सार्वजनिक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

जंगलको राजा कहलिएको बाघ संरक्षणमा सरकारसहित राष्ट्रिय/अन्तर्राष्ट्रिय संरक्षण साझेदारले हातेमालो गरिरहेका बेला यो जन्तुका बारेमा समेटिएको पुस्तक ‘पाटेबाघ’ सार्वजनिक भएको छ।

बाघको ऐतिहासिक पृष्ठभूमि, बासस्थान, संरक्षणमा भइरहेका राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रयास, चुनौतीलगायतका पक्ष समेटेर डा. हेमसागर बरालले तयार गर्नुभएको पुस्तक आइतबार काठमाडौंमा सार्वजनिक भएको हो।

बाघलाई विचरण गर्न आवश्यक पर्ने क्षेत्र, आहरा प्रजाती, सिकार गर्ने तरिका, प्रजनन अवस्था, बाघसँगको सांस्कृतिक एवं धार्मिक महत्व र यो जन्तुका अन्य आनीबानीलाई पनि पुस्तकमा समेटिएको छ।

बाघबारे नेपाली भाषामा प्रकाशित यो पहिलो पुस्तक भएको दाबी गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई, विज्ञहरू डा. तीर्थबहादुर श्रेष्ठ, डा. झमक कार्कीलगायतले पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न बाघको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

नेपाली भाषामा प्रकाशित पुस्तक भएकाले अनुसन्धाता, विद्यार्थी र यो जन्तुबारे चासो राख्ने सबैका लागि उपयोगी हुने उहाँहरूको भनाइ थियो। बाघको बासस्थान सन्तुलित गर्न सो जन्तुका आहरा प्रजातीको संख्या सुधार र आहरा प्रजातीको चरिचरण क्षेत्र व्यवस्थित गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो।

यो जन्तुलाई सरकारले ‘इकोलोजिकल पिरामिड’को उच्च प्राथमिकतामा राखेको छ। पछिल्लो सर्वेक्षणअनुसार नेपालमा वयस्क बाघको संख्या २ सय ३५ पुगेको छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा वयस्क बाघ अभिलेख भएका छन्। यसअघि सन् २०१३ को गणनामा १ सय ९८ र सन् २०१० मा १ सय २१ बाघ फेला परेका थिए।