प्रचार–प्रसार १० देखि १६ दिन

सन्दर्भ ः उपनिर्वाचन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

निर्वाचन आयोगले उपनिर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि १० देखि १६ दिनको समयावधि तोकिएको छ। प्रदेश सभा सदस्यको हकमा १६ दिन र स्थानीय तहका उम्मेदवारको हकमा १० दिनको समयावधि तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गर्दा प्रदेशसभा सदस्य उम्मेदवारले १५ लाख र प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाखभन्दा बढी रकम खर्च गर्न पाउँदैनन्। त्यही सीमामा बसेर मात्र रकम खर्च गर्नुपर्ने पनि प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो।

उपनिर्वाचनमा निर्वाचन आचरसंंहिता कार्यान्वयनमा प्रभावकारिता ल्याउन आयोगमा केन्द्रीय आचारसंहिता अनुगमन समितिमार्फत् अनुगमन हुने व्यवस्था मिलाइएको छ। सबै राजनीतिक दलहरूको समेत संलग्नतामा आचारसंहिता जिल्लास्तरीय अनुगमन समिति गठन गरी सो समितिबाट आचारसंहिताको सूक्ष्म अनुगमन गर्ने व्यवस्था गरिएको पनि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो।

‘यो आयोगले प्रारम्भ गरेको आचारसंहिता अनुगमनको नयाँ अभ्यास हो। यसलाई आयोगले राजनीतिक दलहरूको निम्ति आचारसंहिताको स्वअनुगमन गर्ने अवसरका रूपमा लिएको छ र यसको अनुभवको आधारमा भविष्यमा थप व्यवस्थित गर्दै लगिनेछ।’ –प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो।

त्यसै गरी आयोगले सोमबार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने ११ स्वतन्त्र र ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरिएको हो।

त्यसै गरी प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिनेहरूलाई पनि निर्वाचन चिह्न प्रदान गरिएको छ।प्रदेशसभा सदस्यका लागि भक्तपुरमा राजनीतिक दलबाट ९ र स्वतन्त्र १० गरी १९ जनाको उम्मेदवारी, बाग्लुङमा राजनीतिक दलका ८ र स्वतन्त्र २ गरी १० र दाङमा राजनीतिक दलबाट १२ र स्वतन्त्र २ गरी १४ को उम्मेदवारी परेको आयोगले जनाएको छ।े