बिकट गाउँमा बृद्ध बचाउने अभियान


न्युज अफ नेपाल, हेटौंडा ।

बृद्धबृद्धालाई देवताका रुपमा पुजेर उनीहरुको अनुभव र प्रेरणाले अगाडि बढ्ने प्रयासमा असल मानिस रहने गर्दछन् ।

बृद्धबृद्धासँग समय बिताउनका लागि ‘समय’ ननिकाल्ने, उनीहरुलाई आश्रयस्थलको जिम्मा लगाउने र उनीहरुका लागि समय निकाल्नै परे नमज्जा मान्नेहरुका लागि मकवानपुरको एक अतिदुर्गम क्षेत्रले केही शिक्षा दिएको छ ।

बिकट राक्सिराङ गाउँपालिकाले ६० वर्ष पार गरेका नागरिकको स्वास्थ्य सुधारका लागि ‘आमाबुबा बचाऊ’ कार्यक्रम नै सुरु गरेर बृद्धबृद्धासँग समय बिताउँदा दिक्क मान्ने र उनीहरुको उपचारमा बेवास्ता गर्ने छोराछोरीलाई चुनौतीमात्र दिएको छैन, त्यस्ता व्यक्तिहरुलाई ती बृद्धबृद्धाको अनुभव सँगालेर अगाडि बढ्न पे्ररित पनि गरेको छ ।

गाउँपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको साझेदारीमा ‘आमाबुबा बचाऊ’ कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिका र प्रतिष्ठानबीच २०७८ सालसम्म घरदैलोमा पुगी ज्येष्ठ नागरिक, असहाय र दीर्घरोगीको इन्टरनेटका माध्यमबाट उपचार गर्ने गरी ‘आमाबुबा बचाऊ’ कार्यक्रम सञ्चालन गर्ने सम्झौताअनुरुप काम भएको हो ।

‘आमाबुबा बचाऊ’ कार्यक्रमले गाउँपालिकाका ज्येष्ठ नागरिकलाई राहत मिल्ने गाउँपालिका स्वास्थ्य संयोजक विजय कापरीको विश्वास छ । साबिक सरिखेत, राक्सिराङ, खैराङ र काँकडा गाविस मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साबिक गाविसतर्फ एक÷एक वटा स्वास्थ्यचौकी छन् ।

अधिकांश चेपाङ, तामाङ र दलित समुदायको बसोबास रहेको गाउँपालिकाका नागरिक स्वास्थ्य सेवाका लागि मनहरी, हेटौंडा र चितवनको भरतपुर पुग्नुपर्ने बाध्यता छ । कतिपय त समयमै उपचार अभावमा गाउँमै ज्यान गुमाउन बाध्य छन् ।

दुई संस्थाबीच आदानप्रदान भएको सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र प्रतिष्ठान प्राडा पारस आचार्यले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रमअनुसार गाउँपालिकामा दीर्घरोग पालेर बसिरहेका बिरामीको विशेष निगरानी हुनेछ ।

‘आमाबुबा बचाऊ’ कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकामा छुट्टै शाखा स्थापना हुनेछ । शाखामा मोटरसाइकल, ल्यापटप र इन्टरनेट डिभाइससहित हेल्थ असिस्टेन्ट र अनमीसहित तीन कर्मचारी हुनेछन् । ती कर्मचारीहरु रोगीको घरमा गएर इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरहरुसँग प्रत्यक्ष कुरा गर्छन् । र, उपचार व्यबस्था मिलाउँछन् ।

थप उपचार गर्नुपरे गाउँपालिकाले व्यबस्था गर्ने र प्रतिष्ठानमा रिफर गर्ने व्यबस्था मिलाइएको छ । ती बिरामीका लागि गाउँपालिकाले नै एम्बुलेन्सको व्यबस्था गर्नेछ । प्राणघातक रोगहरु सहेर गाउँमै बसिरहेका बुबाआमाको बाँकी जीवन सहज पार्ने गरी कार्यक्रमको अवधारणा ल्याइएको अध्यक्ष मल्लले बताउनुभयो ।

गाउँपालिकामा खटिएका स्वास्थ्य प्राविधिकले दीर्घरोगी, असहाय तथा ज्येष्ठ नागरिकको घरमा पुगी इन्टरनेटका माध्यमबाट प्रतिष्ठानका डाक्टरहरुसँग भिडियो च्याट गरी स्वास्थ्य उपचार र परामर्श लिने व्यबस्था मिलाइने गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।

‘पक्कै पनि बुढ्यौली पट्यारलाग्दो हुन्छ । परिवारका सदस्यहरु आफूसँग नजिकिँदैनन्, रमाउँदैनन् । त्यसैले बुढ्यौली जीवन बोझिलो लाग्नसक्छ,’ गापा अध्यक्ष मल्लले तर उनीहरुको जीवनबाट युवा वा प्रौढले केही सिक्न जरुरी रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ–उनीहरुले परिवारका सदस्यलाई सही मार्गदर्शन दिन्छन् । पारिवारिक सँस्कार पालना गराउँछन् । आफ्ना र परिवारका सदस्यलाइृ सन्तुलित र संयमित राख्छन् ।

‘बृद्धबुद्धासँग औपचारिकतामात्र निर्वाह गरेर उनीहरुबाट पन्छिने गर्नु हुँदैन । उनीहरुलाई सुन्ने, बुझ्ने प्रयास गर्नुपर्छ,’ अध्यक्ष मल्लले भन्नुभयो–वास्तवमा बृद्धबृद्धाबाट हामीले ज्ञान र अनुभव आर्जन गर्न सक्छौं । जुन हाम्रा लागि बहुमूल्य बन्नसक्छ ।

गाउँपालिकाको जनसंख्या ३० हजार ७ सय ६९ (घरधुरी सर्वेक्षण, २०७५ राक्सिरा गापा) र जनघनत्व १३५.७२ प्रतिव्यक्ति वर्गकिमी छ । कुल जनसंख्यामध्ये करिब १ हजार ५० जना बृद्ध छन् ।