नयाँ भवनले भुलायो भूकम्पको पीडा

0
Shares

नेपाल समाचारपत्र, गोरखा ।

चार वर्षदेखि अस्थायी टहरामा पढ्दै आएका माइकोट मावि बारपाक सुलीकोट–ताकुकोट गोरखाका विद्याथीले अब नयाँ भवनमा पढ्न पाउने भएका छन्।

जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरेको छ। इकाइले करिब ५ करोड लागतको १७ कोठे नयाँ भवन विद्यालयलाई हस्तान्तरण गरेको हो।

२०७२ सालको विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकमा अवस्थित विद्यालयको भवन भूकम्पले ध्वस्त बनाएपछि विद्यार्थी टिनले छाएको र बाँसले बारेको अस्थायी टहरामा पढ्दै आएका थिए।

अस्थायी छाप्रामा पढ्दै आएका विद्यार्थी अब नयाँ भवनमा पढ्न पाउने भएपछि फुरुंग बनेका छन्। विद्यालयमा कक्षा १०मा अध्ययनरत छात्र एलिस परियारले नयाँ भवनमा पढ्न पाइने भएकोमा खुसीको सीमा नरहेको बताए।

छाप्रामा पढ्दा भूकम्पको सम्झना आइरहने भएपनि नयाँ भवन देखेर भूकम्पको पीडा बिर्सिएको उनको भनाइ थियो। अब घाम र पानीको डर नभएको उनले बताए।

यस्तै विद्यालयकी कक्षा ८ की निश्चला घिमिरेले छाप्रामा पढ्दा घामपानीले सताउने गरेको गुनासो गर्दै अब पक्की भवनमा त्यो समस्या नआउने बताइन्।

‘पानी पर्दा बाछिटाले पूरै रुझिन्थ्यो, हिलोमा कति साथीहरू लड्थे,’ घिमिरेले भनिन्– ‘अब नयाँ भवन पाएपछि हिलोमा चिप्लिएर लड्नु पर्दैन।’ टहरामा पढ्दा सधैं भूकम्पले झस्काइरहने भएपछि पक्की भवनले त्यो भुलाएको उनको भनाइ थियो।

यस्तै, कक्षा ५ की छात्रा सुमिना गुवाजूले छाप्रोमा पढ्दा एउटा कक्षाको हल्ला सबै कक्षामा पुगेर पढाइलाई अवरोध हुने गरेको स्मरण गर्दै अब छुट्टाछुट्टै कक्षामा पढ्न पाउने भएकोमा खुसी लागेको बताइन्।

भूकम्पको केन्द्रविन्दु बारपाकमा रहेको र भौगोलिक दूर्गमताका कारण विद्यालयको भवन निर्माण गत ३ वर्ष लागेको हो। २०७३ मंसिरमा निर्माण शुरू भएको विद्यालय २०७६ कात्तिकमा सम्पन्न भएको हो। एक भव्य कार्यक्रमका बीच विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो।

एमबी कन्स्ट्रक्सनले निर्माण गरेको विद्यालय भवन जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का प्रमुख विष्णुप्रसाद मिश्रले बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टलाई हस्तान्तरण गरेका थिए।

नवनिर्मित विद्यालय भवन समुदघाटन कार्यक्रमका प्रमुख अतिथि एवं नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सार्वजनिक शिक्षाको सुदृढीकरणबाट नै मुलुक समृद्ध बन्ने बताए।

सार्वजनिक विद्यालयको गुणस्तर सुधार गरी अभिभावकको पहिलो रोजाइको बनाउनुपर्नेमा जोड दिँदै श्रेष्ठले सिकाइलाई विज्ञान प्रविधि, सीप र रोजगारीसँग जोड्नुपर्ने बताए।

सूचना प्रविधियुक्त सिकाइको विकल्प नभएको भन्दै उनले विद्यालयमा सूचना प्रविधिको विकासका लागि सहयोग गर्ने आश्वासन दिए।

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले इकाइले बनाइदिएको नयाँ भवनमा विद्यार्थी भर्ने र उनीहरूलाई गुणस्तरीय शिक्षा दिने जिम्मा गाउँपालिकाले लिने बताए।

भौतिक पूर्वाधारको समस्या समाधानपछि अब विद्यालयलाई नमुना बनाउने दिशामा आफूहरूको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो।

गाउँपालिकाबाट विद्यालयलाई सबैखाले सहयोग गर्न आफू तयार रहेको भन्दै अध्यक्ष भट्टले स्थानीय अभिभावकलाई सामुदायिक विद्यालयमै छोराछोरी पढ्न पठाउन आग्रह गरे।

यस्तै विद्यालयलाई नयाँ भन हस्तान्तरण गर्दै आयोजना इकाइ प्रमुख विष्णुप्रसाद मिश्रले भूकम्पले भवनसँगै भत्काएका विद्यार्थी, शिक्षक र अभिभावकका मनहरू भवनको पुनर्निर्माणसँगै पुनर्निर्माण हुने आशा व्यक्त गरे।

अब नयाँ बनेको भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम स्थानीय सरकार र विद्यालय परिवारको भएको उनको भनाइ थियो।

गोरखामा विद्यालय पुनर्निर्माण पछिल्लो दिनमा दु्रत गतिमा अगाडि बढिरहेको भन्दै मिश्रले सार्वजनिक शिक्षाको सवलीकरणमा सबmै पक्ष एक भएर लाग्नुपर्ने औंल्याए। ‘अब केही समयपछि कोही पनि बालबालिका अस्थायी टहरामा पढ्नु पर्दैन’ उनले भने।

बारपाक सुलिकोट–६ का वडाध्यक्ष बाबुलाल गुरुङले नवनिर्मित विद्यालय भवनको रेखदेख गर्ने र त्यसमा विद्यार्थी भराउने जिम्मा आफूहरूको भएको बताए।

विद्यालयका प्रधानाध्यापक रमेश सुवेदीले नयाँ भवनले आफूहरूको भूकम्पको पीडा भुलाएको बताए। भौतिक सुधारसँगै अब विद्यालयको पूरा ध्यान शैक्षिक सुधारमा केन्द्रित हुने भन्दै प्रअ सुवेदीले नयाँ भवन जति सुन्दर छ अब त्यसमा शिक्षण सिकाइ पनि त्यति नै सुन्दर हुने प्रतिबद्धता जनाए।

भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर थापा मगरले भौतिक समस्याले विद्यालय सञ्चालनमा परेको समस्या नयाँ भवन बनेसँगै समाधान भएको बताए।

अब विद्यालयको सम्पूर्ण ध्यान सूचना प्रविधियुक्त गुणस्तरीय सिकाइमा केन्द्रित हुने उनको भनाइ थियो।
विद्यालयमा हाल २९५ विद्यार्थीहरू अध्ययनरत छन्। नयाँ भवन समुद्घाटन कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।