नेपाल–भारत सम्बन्धको उचाइमा ७१ ठाउँमा पहिरो गएको भर्खरै जानकारीमा आएको छ । तर, उचाइमै पहिरो जान्छ भनेर यसलाई स्वाभाविक र सामान्यरूपमा लिन भने सकिने अवस्था छैन, किनभने द्विदेशीय सिमाना देखाउने नक्सा प्रकाशन–प्रसारण गर्दा सरोकारवाला मुलुकहरू सँगै बसेर निष्कर्षमा पुग्नुपर्ने हो, तर यसपटक त्यसो गरिएको छैन, भारतले एक्लै प्रकाशित गरेको नक्सामा कालापानी, लिम्पियाधुरालगायतका नेपालका क्षेत्रहरू उसको पक्षमा पारेको छ । छिमेकी भारतसँग उचाइयुक्त लामो सम्बन्ध रहेकोमा गर्व गर्ने नेपालीको भावनामा ठेस पुगेको छ ।
भारतले सार्वजनिक गरेको नयाँ नक्साप्रति नेपालमा प्रभावमा रहेका सबै राजनीतिक दलले आपत्ति प्रकट गरेका छन् । सरकारले भनेको छ– ‘कालापानी क्षेत्र नेपालकै भू–भाग हो । प्रस्ट छ, यस्ता विषयमा सरकारले विज्ञप्ति निकाल्दैमा उसको जिम्मेवारी पूरा भने हँुदैन, यसमा त सक्रियरूपमा छिमेकीसँग वार्ता, परीक्षण, मापन, सीमाङ्कन आदि विधि अपनाएर सीमास्तम्भ पहिचान गरिनुपर्छ ।
यसअघि, नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकबाट दुई मुलुकबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्या समाधान गर्ने जिम्मा परराष्ट्र सचिवहरूलाई दिइएकोमा नेपालतर्फबाट सक्रियता र विज्ञता प्रदर्शन गर्न नसकेकै कारण यस प्रकारको नक्सा सार्वजनिक गर्ने मौका भारतले पाएको त होइन भन्ने तर्क पनि कडारूपमा बाहिर आएको छ ।
सरकारले प्रकाशित गरेको विज्ञप्तिमा कालापानीलगायतको क्षेत्र नेपालकै हो त भनिएको छ तर भारतलाई नक्सा सच्याउन भनिएको छैन ।
हो, नक्सा सच्याउन आग्रह गरेपछि कुनै कारणवश भारतले अनुरोध स्वीकार गरेन भने के कदम चाल्ने भन्ने चरणलाई ध्यान दिएर यस प्रकारको भाषा प्रयोग नगरिएको हुन सक्छ, नेपाल सधैं भारतसँगको सम्बन्धप्रति गम्भीर र संवेदनशील छ र रहनु आवश्यक पछि छ, तर मित्रतामा अस्पष्ट भाषाको काम छैन । मनमा असन्तोष राखेर व्यवहार मात्र नरम देखाउँदा परिणाम घातक हुन सक्छ ।
विगतमा कतिपय अवस्थामा यस्तै त्रुटि गरिएका कारण नेपाल–भारत सम्बन्धलाई रोटी–बेटीको स्तरमा व्याख्या गर्ने गरिए पनि अधिकांश नेपालीमा भारतप्रति जुन विश्वास र प्रेमको भावनाले उचाइ हासिल गर्नुपथ्र्यो, त्यो हुन नसकेको प्रस्ट देखिन्छ । आशंका सिर्जना गराउने काम यस्तै अस्पष्ट भाषाका कारण हुने हो ।
भारतसँगको सम्बन्धमा नेपालमा रहेका राजनीतिक दल, समूह र कतिपय ‘विद्वान्’हरूमा पनि द्वैध चरित्र छ, यही चरित्र सरकारका सदस्यहरूमा पनि हुने नै भयो ।
उनीहरू नेपाली जनतासँग बोल्दा भारतले नेपाललाई हेप्यो भन्ने र भारत सरकारका प्रतिनिधिसँग बोल्दा ‘सबै ठीक छ’ भनेर प्रशंसा गर्ने द्वैध चरित्र देखाउने गर्दछन्, यस्तै व्यवहारका कारण जनस्तरमा नेपाल–भारतबीच जुन स्तरको विश्वासको सम्बन्ध विकसित हुनुपर्ने हो, हुन सकेको छैन ।
राष्ट्रियताको सवालमा नेपाली दल, समूह र व्यक्ति एकजुट भएर प्रमाणमा आधारित बोली बोल्न सकेमात्र हामी बलियो हुनेछौं । तर, बहुआयामिक सम्बन्धको छिमेकी भारतसँग गरिने हाम्रो व्यवहार संयम, गम्भीर र प्रामाणिक भने हुनैपर्छ । हामीलाई भूमि र छिमेकी दुवै चाहिन्छ । तर, भूमि गुमाएर छिमेकीमा सन्तोष गर्न भने सकिन्न ।
प्रतिक्रिया