विपद् व्यवस्थापनमा अमेरिकाले सहयोग थप्ने

0
Shares

काठमाडौं, (नेस)।

गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी सहयोग नियोग (युएसएआईडी)का एसिया ब्युरो, सहायक प्रशासक ग्लोरिया डी स्टीलेले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

गृह मन्त्रालयमा भएको भेटमा नेपालको विभिन्न क्षेत्रमा युएसआईडीले गर्दै आएको सहयोग तथा आगामी दिनमा आवश्यक सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुनर्निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगका लागि आग्रह गर्नुभयो।

गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया सुरु गरी प्राधिकरणका लागि प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आव्हान गरीसकेको जानकारी दिँदै गृहमन्त्री थापाले युएसएआईडीबाट प्राधिकरणका लागि आवश्यक सहयोग पाउने आशा व्यक्त गर्नुभयो।

भेटवार्तामा सहायक प्रशासक ग्लोरियाले नेपाल–अमेरिका सम्बन्धको चर्चा गर्दै नेपाललाई युएसआईडीले सहयोगको प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

उहाँले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने तथा नेपालको अपेक्षा अनुसार थप सहयोग विस्तार गर्न आफुहरू तयार रहेको बताउनुभयो।

सहायक प्रशासक ग्लोरियाले विपद् व्यवस्थापन प्राधिकरण गठन अन्तिम चरणमा पुगेको जानकारी पाउँदा आफुलाई खुशी लागेको जानकारी दिँदै प्राधिकरणलाई आवश्यक सहयोग गर्न आफुहरू तयार रहेको बताउनुभयो।