एभिएसन म्युजियमको कहानी

94
Shares

कमल ढकाल

हामी पोखरा वा विराटनगर जाँदा योजना बनाउँछौं। यो लुगा लगाउने, यो जुत्ता लगाउने, यति पैसा लैजाने, यहाँ खाने, यहाँ बस्ने भन्छौं तर सिंगो जीवनलाई कहाँ लैजाने कहाँ जाने के गर्ने नभनी त्यो त्यत्तिकै छाडिदिन्छौं। कत्तिको त जीवनमा के बन्ने के गर्ने भन्ने उद्देश्य नै हुँदैन।

सपना ठूलो देख्नेले नै संसार परिवर्तन गरेका छन्। त्यो सपनामा दिनका दिन कति काम भयो भनेर हेर्नेले मात्र संसारमा केही गरेका छन्। सपना नहुनेहरू पखेटा काटिएका चरा जस्तै हुन् भनेर मोहमद अलीले उहिल्यै भनिसके।

अध्यात्म होस् वा विज्ञान, कला होस् वा साहित्य, व्यापार उद्योग कलकारखाना वा डाक्टर इन्जिनियर वा पाइलट हरेक पेसा, व्यवसाय, वर्ग, क्षेत्र, लिंग, जात, धर्म, सम्प्रदायमा काम गर्ने भनेको सपना देख्ने र त्योअनुसार योजनामा कति काम भयो भनेर हेर्नेले नै हो।

मान्छे महापुरुष र महान् ग्रन्थ दुवै हो। वेद, उपनिषद् र रामायण जस्तै होस् भनेर छोराको नाम वेद राखे एक किसान बाबु दुर्गाप्रसाद उप्रेतीले। वेद उप्रेतीले भने नेपालमा एभिएसन म्युजियम बनाएर प्लेनलाई नै महान् ग्रन्थ जस्तै बनाउँदै छन्।

धनगढी जन्मेर डडेलधुरा बसेका र धनगढीको पञ्चोदय माविबाट २०३५ सालमा एसएलसी पास गरेका वेदले आफूलाई वेदजस्तै बनाए। समयको आफ्नै पदचाप हुन्छ। उति बेला धनगढी–डडेलधुरा राजमार्ग बन्दै थियो।

राजमार्ग बनाउने इन्जिनियरको प्रभावले वेद पनि इन्जिनियर बन्न खोजे। सपनामा धार लगाउन म्याथ लिएर पढे। महेन्द्रनगर क्याम्पसबाट आईएससी प्रथम डिभिजनमै गरे।

आन्दोलनको समय थियो। रिजल्ट कुर्नुपर्ने भयो। समयलाई बगेर खेर जान उनी दिँदैनथे र त आर्मीको सेकेन्ड लेफिटिनेन्टतिर लागे। उनले आर्मीमा जागिर खाने र इन्जिनियर उतै बन्ने चाहना राखे।

जवहारलाल युनिभर्सिटीबाट ग्राजुएसन गरे। नेसनल डिफेन्स एकेडेमी पुनामा एयरफोर्सको ट्रेनिङ गरेपछि उनलाई प्लेन उडाउने रहर भयो। अमेरिका कर्मसियल पाइलट बन्न गए र पर्फेक्ट पाइलट बने। आर्मीमा हुँदा युगोस्लोभाकिया गए। थोरै पैसा पनि आयो।

आफूसरहका मान्छेको जुनियर बन्न नपरेको भए आर्मीमै हुन्थे होलान् वेद। आठ वर्षमा आर्मीको जागिर छाड्न पाउने नियम मानेर उनले विसं २०५२ मा बाह्रवर्षे आर्मीको जागिर छाडेर नेकोन एयरमा काम थाले।

विसं २०४४ सालमा नेकोन बन्द भयो। उनको यात्रा भारतीय प्लेनमा गयो। किंग फिसरमा काम गरे त्यो पनि बन्द भयो। अहिले इन्डोनेसियाको लायन एयरमा काम गरिरहेका छन्। यो भयो उनको पाइलटको यात्रा।

वेदले आफूले वेद जस्तै किताब लेख्न पनि खोजे। फोटोमा असाध्यै सौखिन वेदसँग अत्याधुनिक क्यामरा छन्। ती क्यामराबाट उनले हेलिकोप्टर रिर्जभ गरेर पनि फोटो खिचेका छन्। त्यसलाई किताब बनाएका छन्।

उनको आर्मीसम्बन्धी र हवाईसम्बन्धी किताब निक्लेको छ। नपत्याउँदो पाराले वेदको किताब २०आंै हजार बिकेको पनि छ। देश घुम्ने सौख लिएका उनी सय प्लस देश घुमिसके।

प्लेन उडाइरहँदा मन पनि उडिरहेको हुन्छ। उडिरहेको प्लेनमा उनको मनले उनलाई एकदिन भनेछ यत्रो फोटो छ प्लेनमै राखेर प्रदर्शनी गर्न पाए कस्तो मज्जा हुँदो हो। त्यो समयमा कस्मिक एयरको प्लेन बिग्रेर राखिरहेको थियो। उनको दिमाग कस्मिकको प्लेनलाई नै एभिएसन म्युजियम बनाउने दिमाग आयो।

कस्मिक बिग्रेको थियो। उनी इन्डोनेसियाको बालीमा थिए। यहाँ कस्मिक काटेर फाल्दै छन् भन्ने सुनेर उनले नेपाल उड्डयन प्राधिकरणको एमडीलाई फोन गरे।

उनले केही समय रोकाउन सकिने भनेपछि उनी काठमाडौं आए प्रविधि मिलाए र धनगढीमा कस्मिकको प्लेनमा तस्वीरहरू राखे। ६ वर्षअगाडि गरेको यो पराक्रम नै एभिएसन म्युजियम बन्यो।
अर्काे प्लेन फेरि बिग्रियो। टर्किस एयर काठमाडौंमा अवतरण गर्दा चक्का क्र्यास भयो। अगाडिको कोल्याप्स भयो। प्लेन ग्राउन्डेड भयो। बनाउन खोजे सकेनन्। सबै सामान लैजाने बोक्रो मात्र छाड्ने भन्ने भयो।

टर्किस एयरलाइनलाई कसैले होटल बनाउने कसैले के बनाउने भन्ने भयो। उड्डयन प्राधिकरणसँग वेदले फेरि रुचि देखाएपछि अहिले सिनामंगलमा एभिएसन म्युजियम बनेको छ ७ करोड खर्चेर।

वेद भन्छन्– ‘विद्यार्थीलाई मोटिभेट होस्, पर्यटकीय गन्तव्य बनोस् भनेर संसारमै एयरबसको लेटेस्ट प्लेन किनेर म्युजियम बनाउने हामीले सुविधा पायौं, नागरिक उड्डयन प्राधिकरण पनि पार्टनर भयो, १० वर्षलाई ज्वाइन्ट भेन्चर छ, अगाडि बढ्ने नै छ।’

२ सय जनाले एकैपल्ट हेर्न मिल्ने, कन्फ्रेन्स गर्ने हल, खाजा घर, अफिस भएको एभिएसन म्युजियम नेपालको पहिलो हो। धनगढी र सिनामंगलमा बिग्रेको थोत्रो प्लेनलाई उनले नयाँ रूप दिएका छन्।

पाइलटभन्दा बढी एभिएसन अभियन्ताका रूपमा चिनिँदै छ वेदलाई अहिले। काम गर्न गाह्रो देश भनिने नेपालमा नगर्नेलाई मात्र गाह्रो हो कि झैं लाग्छ वेदलाई हेर्दा। तर, बंैकले र सरकारले सपोर्ट गर्दा २५ जनालाई उनैले तलब खुवाइरहेका छन्। कतिपय फ्रि गरे पनि उनी खुसी–खुसी यो काम गरिरहेका छन्।

डडेलधुराबाट राजधानी आएर बाबुको पैसा नलिई उनले आफूलाई पाइलट बनाए। एभिएसन म्युजियम बनाए। ती सबै बनाउँदा उनी आफैं बनिरहेछन्।

उनका बच्चाबच्ची हुर्किसके। छोरी वत्सला उप्रेती एमबीबीएस किस्टबाट गरिरहेकी छिन अर्काे छोरी दीक्षा एमडी गर्दै छन् साइक्र्याटिकमा छोरा दीपकको तर्फबाट सम्धी बनिसके।

इन्जिनियर बन्न नपाए पनि पाइलट बनेर आफूले सौख पूरा गरेको उनी बताउँछन्। उनीसँग एरोबसको तल बसेर कुरा गरिरहँदा प्लेनमा बसेझैं आवाज आइरहेछ कृपया ध्यान दिनुहोला, अगाडिको प्रवेशद्वार हैन यताको प्रवेश द्वारबाट पाल्नुहोला। हामी कुरा गरिरहँदा फेरि आवाज आउँछ नमस्कार एभिएसन म्युजियममा तपाईंलाई स्वागत छ।

प्लेन नै प्लेनबीच बसेझैं अनुभव दिलाउने गरी फुत्त–फुत्त बसेका चराझैं त्रिभुवन विमानस्थलमा आइरहेका प्लेनका आवाज आइरहेछन्। यस्तो लाग्छ म प्लेनभित्रै छु।

प्लेनमा गएर हेर्दा विश्वयुद्धमा लडेका प्लेनदेखि नेपाल एयरवेजका, बुद्ध र संसारभरका विभिन्न प्लेनका इतिहास पढ्न पाइन्छ।

त्यत्रो इतिहासका तस्वीर सबै उनै वेदले लिएका रहेछन्। एभिएसनको कथा र कहानीमा उनी आफ्नो अलग्गै कहानी बनाइरहेछन्। यस्तो लाग्छ इतिहास एभियसनको गर्दा उनको इतिहास बनिरहेको छ।

जीवन उत्सवमय छ। ऊर्जामय छ र त सुन्दर छ। मानव जीवन चमत्कारिक, आश्चर्यचकित, अप्रत्याशित, अनौठो संयोगले जेलिएको हुन्छ।

सुख वा दुःखका ती घटनालाई हेरेर शिक्षा लिने विवेक हामी मानवसँग मात्र छ।
कति रमाइलो छ जीवन रोग लागे औषधिले निको हुन्छ।

भोक लागे खाँदा आनन्द हुन्छ। शोकको दिन केही वर्षमै चाडमा परिवर्तन हुन्छ। अरू त अरू मृत्यु पनि मानव जीवनको उत्कृष्ट चिज हो। संसारलाई हेरौं त गरिबका छोरा नै धनी भएका छन्।

खुट्टा नहुने र आँखा नदेख्नेले हिमाल चढेका छन्। संसार ऊर्जा नै ऊर्जा छ। यतिविधि मान्छेले गरेका आविश्कार होस् वा कृषि कर्म अर्काे कुनामा बसेको मान्छेले चाख्न पाउँछ।

बेइमान नभएर कसैलाई धोका नदिई, इमानदार भएर संसार हेर्ने हो भने संसारमा भनेको चिज मान्छेले गर्न सक्छ।
वेद उप्रेतीले पैसा भएर हैन हिम्मत भएर, दृढ इच्छाशक्ति भएर यो एभिएसन म्युजियम बनाएका हुन्।

सिनामंगलमा भएको एभिएसन म्युजियम बनाउने सपना सानैदेखि थिएन न त पाइलट हुने नै। समयको संयोगलाई इमानदार भएर लागेका कारण आज एभिएसन म्युजियम बन्यो।