थुनछेक बहसमा आलमलाई ५२ प्रश्न

0
Shares

रौतहट, (नेस) ।

‘श्रीमान् हजुर दफामा कन्फुयुज हुन सक्नुहुन्छ भने म व्याख्या गर्छु।’ यो बहस थियो सरकारी वकिल सूर्यराज दाहालको तर प्रतिउत्तरमा जिल्ला अदालत गौरका ४ नम्बर इजलासका न्यायाधीश दीपक ढकालले दफाको विषय मलाई नसिकाउनुहोस् आफ्नो तर्क राख्नु भनेपछि ती वकिललाई श्रीमान्को आदेश भएपछि बेन्चमा उपस्थित सबै चकित भए।

बिहीबार जिल्ला अदालत गौरमा निलम्बित प्रतिनिधिसभा सदस्य मोहम्मद अफताब आलमको बयानपछि भएको थुनछेक बहसमा जाहेरवालाको तर्फबाट तीन जना सरकारी वकिलले बहस गरेका छन्।

जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले पहिलो बहस गर्नुभएको हो भने त्यसपछि महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला अनि सूर्यराज दाहालले बहस गर्नुभएको हो।

समय अभावका कारण तीन जना सरकारी वकिलको बहस सकिएको छ। तर जाहेरवालाको तर्फबाट हुने बहस बाँकी रहेको छ। जाहेरवालाको तर्फबाट सो मुद्दामा पाँच जना सरकारी वकिलसहित १४ जना र प्रतिवादी निलम्बित प्रतिनिधिसभा सदस्य मोहम्मद अफताब आलमको तर्फबाट ३१ जना कानुन व्यवसायी बहस गर्ने भएका छन्।

थुनछेक बहस अघि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम बिस्फोटको तीनवटा आरोप लागेका आलमलाई जिल्ला अदालत गौरका न्यायाधीश दीपक ढकालले घटनासँग सम्बन्धी ५२ वटा प्रश्न सोध्नुभएको हो।
आरोपित सांसद आलमले घटनालाई इन्कारी बयान दिनुभएको जनाइएको छ।