सुकुटे दुर्घटनाका मृतकको बाह्रबिसे र काठमाडौंमा दाहसंस्कार

0
Shares

चिरञ्जीवी मास्के, दोलखा।

सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको यात्रवाहक बस दुर्घटनामा परी मृत्यु हुने मध्येका सात जनाको मंगलबार बाह्रबिसेको भोटेकोशीमा र नौ जनाको काठमाडौं पशुपति आर्यघाटमा सामूहिक दाहसंस्कार गरिएको छ।

मृतक उदयपुरका विजय तमाङको शव उदयपुर नै पठाइएको र चितवनको पूजा बस्नेतको दाहसंस्कार अमेरिकामा रहेका छोराहरू आएपछिमात्र गरिने भएकोले उनको शव महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको दोलखा शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताउनुभयो।

मंगलबार बिहान दुर्घटनामा मृत्यु भएकामध्ये दोलखा शैलुङ गाउँपालिका–५ काटाकुटीका पाँच जना र वडा नम्बर ४ बागखोर मागा माइती भएकी एक महिला र उनको छोरा गरी सात जनाको भोटेकोशीमा सामुहिक दाहसंस्कार गरिएको दोलखा शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताउनुभयो।

सामूहिक दाहसंस्कार गरिएकामा शैलुङ गाउँपालिका–५ काटाकुटीका रिकेश खड्का, रत्नकुमारी राउत, उनको छोरा २९ वर्षीय किरण राउत, कविता राउत, रञ्जीता केसी बस्नेत तथा वडा नम्बर ४ बागखोर मागा माइती भएकी चमेली श्रेष्ठ र उनको छोरी ६ वर्षकी सायरानी श्रेष्ठको सामूहिक दाहसंस्कार गरिएको शैलुङ गाउँपालिका–५ का वडा अध्यक्ष किरण बस्नेतले बताउनुभयो।

मृतक किरण राउत नेपाली सेना भएकोले उनको दहासंस्कारको बेला सेनाले सलामीसमेत दिएको थियो।दुर्घटनामा मृत्यु भएको शैलुङ गाउँपालिका–४ को ६ वर्षका सलिना तमाङ, दियुन लामा (दिल) र सजिना तमाङ, वडा नम्बर ३ को तीन महिनाका बालक सिसन तमाङ, वडा नम्बर २ का उरमाया मोक्तान, वडा नम्बर ५ काटाकुटीको चेतकुमारी बस्नेत, ३२ वर्षको निर्मला खड्का र निकेश खड्कासहित ९ जनाको काठमाडौंमा दहासंस्कार गरिएको शैलुङ गाउँपालिकाका अध्यक्ष दुलालले बताउनुभयो।

आइतबार बिहान ८ः३० बजे शैलुङ गाउँपालिका–४ बागखोरबाट काठमाडौंको लागि छुटेको शैलुङ यातायातको बा२ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे सडक खण्डबाट सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा दोलखा शैलुङ गाउँपालिका–२, ३, ४ र ५ का १५ जना तथा चितवन र उदयपुरका १÷१ जना गरी १८ जनाको मृत्यु भएको थियो।

मृतकको दहासंस्कारको लागि प्रति व्यक्ति २० हजारको दरले दहासंस्कार खर्च शैलुङ गाउँपालिकाले उपलब्ध गराएको अध्यक्ष दुलालले बताउनुभयो। बस समितिसँग कुरा मिल्न नसकेपछि पीडित परिवारले शैलुङका स्थानीय रिमालबाबु श्रेष्ठको संयोजकत्वमा १ सय एक जनाको संघर्ष समिति गठन गरेको अध्यक्ष दुलालको भनाइ छ।

अरनिको समितिले मनोपली गर्दै आएकोले सिन्डिकेट अन्त्य, भाँडामा एकरूपता, मृतकको परिवारलाई उचित क्षतिपूर्ति, कच्ची बाटोमा नयाँ बसहरू राख्ने, सिट क्षमता भन्दा बढी यात्रु ओर्सान नपाउनेलगायतको माग संघर्ष समितिले सरकार समक्ष राखेको अध्यक्ष दुलाल बताउनुहुन्छ।

मृतकहरूको शव दुर्घटना स्थल सुकुटेमै राखेर पास्टमार्टम तथा दहासंस्कार गर्न सकिने भएपनि पीडितलाई झन ठूलो पीडा हुनेगरी मृतकको शवहरूलाई गाडीमा खात बनाएर राखी बाह्रबिसे पुर्याउको अध्यक्ष दुलालको आरोप छ।