ऊर्जा सुशासनका निम्ति नवीकरणीय ऊर्जामा जोड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नवीकरणीय ऊर्जाको क्षेत्रमा लक्ष्यअनुसारको उपलब्धि हासिल हुन नसकेको ऊर्जा विशेषज्ञहरूले बताएका छन्। ललितपुरमा आइतबार आयोजित ऊर्जासम्बन्धी गोलमेच सम्मेलनमा सहभागी उर्जाबिद्हरूले विगतका तुलनामा केही प्रगति भइरहे पनि सरकारको पर्याप्त गृहकार्य हुन नसक्दा लक्ष्यअनुरुपको उपलब्धि हासिन हुन नसकेको धारणा राखेका हुन्।

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले मुलुकमा हाल कायम रहेको ऊर्जा गरिबी अन्त्य गरी ऊर्जा सुशासन कायम गर्न नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तार हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले अबको भविष्य नवीकरणीय ऊर्जाको भएकाले हाल खनिज ऊर्जाका लागि दिइँदै आएको अनुदानलाई घटाएर स्वच्छ ऊर्जामा लगाउनुपर्नेमा जोड दिनुभयो।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले सरकारले ल्याएका श्वेतपत्र, १५औं योजना, दिगो विकास लक्ष्यमा उल्लिखित लक्ष्यहरू हासिल गर्ने गरी केन्द्रलाई व्यापारिक योजना बनाएर कार्य थालनी गर्न सुझाव दिनुभयो।

विद्युत् नियमन आयोगका सदस्य डा. रामप्रसाद धितालले २०४६ साल अघिसम्म विद्युत्को उत्पादन, प्रसारण र वितरण राज्य नियन्त्रित रहेकामा प्रजातन्त्र पुनस्र्थापनापछि उत्पादनमा निजी क्षेत्र र समुदायको संलग्नता भएको र समग्र ऊर्जा क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न २०७५ मा गठित नियमन आयोगले काम थालनी गरिसकेको बताउनुभयो।

कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि ऊर्जाको विकास अपरिहार्य रहेको बताउनुभयो। उहाँले नवीकरणीय ऊर्जाको विकासका लागि प्राधिकरण निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको समेत बताउनुभयो।

उहाँले तीन वर्षभित्र सम्पूर्ण जनतामा विद्युत् सुविधा पुर्याउने सरकारको घोषणाअनुसार प्राधिकरण पुग्न नसक्ने ठाउँमा वैकल्पिक ऊर्जामार्फत विद्युतीकरण गर्न सकिने बताउँदै यस वर्ष ४० जिल्लामा पूर्णरुपमा विद्युतीकरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले संविधानले दिएको अधिकारअनुसार तीनै तहका सरकारहरूसँग सहकार्य र समन्वय गरी आम जनतामा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने प्रतिबद्धता जनाउनुभयो।

सम्मेलनमा बोल्दै पूर्वमन्त्री गणेश साहले ऊर्जा सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको मुख्य सूचक हो भन्ने तथ्य राजनीतिज्ञ, नीति निर्माता र आम उपभोक्तालाई बुझाउन आवश्यक रहेको बताउनुभयो। यसैगरी लघु र साना जलविद्युत र सौर्य उर्जा प्रणालीको प्रयोगवाट १८ प्रतिशत जनताले विद्युत् सेवा पाएको केन्द्रले जनाएको छ।

१५ लाखभन्दा बढी घरमा सुधारिएको चुलो, ४ लाख २५ घरमा बायोग्यास प्रविधि जडान भइसकेको केन्द्रका निर्देशक नवराज ढकालले जानकारी गराउनुभयो।त्रिवि इन्जिनीयरिङ अध्ययन संस्थान ऊर्जा अध्ययन केन्द्रका निर्देशक डा. श्रीराज शाक्यले प्रत्येक नेपालीको घरमा ऊर्जाको पहुँच पुर्याउन नयाँ–नयाँ खोज अनुसन्धानलाई विश्वविद्यालयले जोड दिएको र यसका लागि आवश्यक प्राविधिक जनशक्ति तयार गर्न उच्च शिक्षाको अध्ययन भइरहेको बताउनुभयो।